एजेन्सी । इन्डियन प्रिमियर लिग(आईपीएल)मा रोयल च्यालेन्जर्स बैंगलुरुले लगातार दोस्रो जित निकालेको छ । आइतबार राति सम्पन्न खेलमा बैंगलुरुले चेन्नई सुपर किंग्सलाई ४३ रनले पराजित गरेको हो ।
जितको लागि २ सय ५१ रनको विशाल विजयी लक्ष्य पछ्याएको चेन्नई १९.४ ओभरमा अलआउट हुँदै २ सय ७ रनमा समेटिएको हो । चेन्नईको लागि सर्फराज खानले अर्धसतक बनाए । उनले २५ बलमा ८ चौका र दुई छक्काको मद्दतमा ५० रन बनाए । यस्तै प्रशान्त वीरले ४३, जेमी ओभरटनले ३७, अन्शुल कम्बोजले १९ र शिभम डुबेले १८ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
बैंगलुरुको लागि भुवनेश्वर कुमारले ४ ओभरमा ४१ रन दिएर तीन विकेट लिँदा जाकोब डफी, अभिनन्दन सिंह र कुर्नाल पान्ड्यले दुई/दुई तथा सुयश शर्माले एक विकेट लिए ।
यसअघि बैंगलुरुमा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको बैंगलुरुले २० ओभरमा तीन विकेटको क्षतिमा २ सय ५० रन बनाएको थियो । बैंगलुरुलाई विशाल योगफलमा पुर्याउन अन्त्यमा टिम डेभिडले विस्फोटक ब्याटिङ गर्दै अर्धसतक बनाए । उनले २५ बलमा ८ छक्का र तीन चौकाको मद्दतमा ७० रन बनाए । यस्तै देवदत्त पड्डिकलले २९ बलमा ५ चौका र २ छक्काको मद्दतमा ५० रन बनाए । कप्तान रजत पतिडरले १९ बलमा ६ छक्का र एक चौकाको मद्दतमा ४८ रन बनाउँदा फिल साल्टले ४६ र विराट कोहलीले २८ रन बनाए ।
चेन्नईको लागि अन्शुल कम्बोज, जेमी ओभर्टन र शिभम डुबेले समान एक/एक विकेट लिए ।
जितसँगै बैंगलुरु दुई खेलबाट ४ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको छ भने तीन खेलमै पराजित चेन्नई पुछारमा रहेको छ ।
