श्रवण क्षमता नभएर रोकेन अृमत र हेमराज ‘रेष्टुरेन्ट’ सञ्चालन गर्न

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ सिंगाको पौडेल चोकमा श्रवण क्षमता नभएका अमृत र हेमराज शर्मा ‘रेष्टुरेन्ट’ व्यवसाय सञ्चालन गरेर आत्मनिर्भर बनेका छन् ।

बागलुङका ३५ वर्षीय अमृत र ४२ वर्षीय हेमराजले शारिरिक अशक्तताले रोजगारी, व्यवसाय र अवसरलाई छेक्न सक्दैन भन्ने उदाहरण प्रस्तुत गरेका हुन् । नाताले आफन्त पर्ने अमृत र हेमराजले सिंगाको पौडेल चोकमा संयुक्त रुपमा सञ्चालन गरेको ‘सांकेतिक भाषा खाजा घर’ले उनिहरुलाई स्वरोजगार र आत्मनिर्भर बनाएको हो ।

जन्मजात श्रवण क्षमता नभएका शर्माद्धय सांकेतिक भाषा र शब्द लेखेर उपभोक्ताहरुसँग सम्बाद गर्छन् । चिया, खाजा, जेरी, तरकारी, याममा अरिंगाल, माछा, मासु र खानाका परिकार उनीहरु आफै तयार पार्छन् ।

स्थानीयबासी, वडा कार्यालय, विद्यालय, बेनी–दरवाङ सडकको यात्रा गर्ने सर्वसाधारण, ब्यवसायीहरु उक्त रेष्टुरेष्टका ग्राहक हुन् । टाढाबाट आउने ग्राहकहरुले मोवाइलमा सन्देश पठाएर खाना, खाजाका परिकार ‘अर्डर’ गर्छन् । सामाजिक सञ्जालमा भिडियो कल गरेर पनि सांकेतिक भाषामा ग्राहकले कुराकानी गर्छन् ।

फोन आयो भने छिमेकीलाई उठाउन लगाएर उनीहरु मार्फत सूचना लिने गरेको अमृतले लेखेर जानकारी गराए । म्याग्दीका जलविद्युत आयोजनाहरुमा परामर्शदाताको रुपमा काम गर्दै आएका शंकर बस्यालले सरसफाई र आत्मीय ब्यवहारका कारण सांकेतिक भाषा खाजा घरलाई रोजेको बताए । “उहाँहरु नबोलेपनि ग्राहकको भावना बुझेर नम्र ब्यवहार गर्नुहुन्छ,” उनले भने“ठाउँको सरसफाई र परिकार हाइजेनिक हुने भएकाले राम्रो लाग्छ ।”

दैनिक पाँच हजारको हाराहारीमा व्यापार गर्ने शर्माद्धयले उक्त आम्दानीबाट व्यवसायलाई निरन्तरताका साथै घरब्यवहार चलाएको बताए । दसै तिहार र चाडपर्वको समयमा ब्यापार अली बढी हुन्छ ।

हेमराजको घरमा श्रीमती र एक छोरी छन् । अमृतकी श्रीमतीको पनि श्रवण क्षमता छैन् । अमृतका घरमा श्रीमती र एक छोरा छन् । हेमराजले कक्षा ५ सम्मको अध्ययन गरेका छन् भने अमृतले १२ कक्षा उत्तीर्ण गरेकी छिन् । उनीहरुका परिवार बागलुङमै बस्छन् ।

धवलागिरी माविको बहिरा स्रोत कक्षाका शिक्षक शंकर पाण्डेको सहयोगमा हेमराज र अमृत १० वर्षअघि सिंगामा आएका थिए । शर्माद्धयको सानैदेखि खानाका परिकार बनाउन रुची थियो । घारबाट रु. तीन लाख ल्याएर घर भाडामा लिएर व्यवसाय शुरु गरेको अमृत सम्झन्छन् । हाल उनीहरुको व्यवसायमा करिब रु. १० लाखको लगानी छ ।

सिप र ब्यवसायमा आवद्ध भएकाले घरब्यवहार चलाउन सहज भएको शर्माद्धयको अनुभव छ । पौडेलचोकका यादवप्रसाद पौडेलले अमृत र हेमराजले हातमा सिप र व्यवसायिक कला तथा साहाश हुने हो भने शारिरिक प्रतिकुलताका बावजुद आत्मनिर्भर र स्वरोजगार बन्न सकिने सन्देश दिएका बताए ।

“अमृत र हेमराजले हातमा भएको सिपको सदुपयोग गर्न जान्ने हो भने जिवन चलाउन अरुमा निर्भर हुनुपर्दैन भन्ने सन्देश दिनुभएको छ,” उनले भने, “उहाँहरुले व्यवसायबाट हासिल गरेको सफलताबाट धेरैका लागि उदाहरणीय बन्न सक्छ ।”

हाल भाडाको घरमा ब्यवसाय गर्दै आएका उनीहरुले व्यवसाय विस्तार गर्दै लैजाने योजना बनाएका छन् । पूँजीको अभाव र सबै ग्राहकहरुले सांकेतिक भाषा नबुझ्नु उहाँहरुको लागि व्यवसायमा चुनौति बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *