‘काचाल्का’ अर्थात् थोरै पानीले धेरै सिँचाइ गर्ने प्रविधि

सनद अधिकारी, नारायणगढ (चितवन) । कृषिलाई व्यावसायिक बनाइ कम लागतमा बढी उत्पादन सुनिश्चित गर्नु अहिलेको आवश्यकता हो । नेपालका विभिन्न कृषि विश्वविद्यालय र अनुसन्धान केन्द्रले कृषिमा अध्ययन अनुसन्धान गर्दै आएका छन् । तर अधिकांश अनुसन्धानका परिणाम व्यवहारमा लागु नहुँदा ती अनुसन्धानमै सीमित भएका पनि छन् ।

कृषि उत्पादनका लागि मल र बिउ उपलब्ध भएपनि सिँचाइ प्रणालीको उपयुक्त प्रयोग बिना उत्पादन सम्भव छैन । यसका लागि पानीको मात्रा, माटोको प्रकार, र बालीअनुसार सिँचाइ गर्ने तरिका निर्धारण गर्नु आवश्यक हुन्छ । कृषिलाई व्यावसायिक बनाउने उद्देश्यले, उपलब्ध प्रविधि र उपकरणलाई स्थानीय स्तरमा प्रयोगयोग्य र व्यवहारमै आधारित बनाउनु जरुरी छ । विकास भएको तर व्यापक रूपमा प्रयोगमा नआएको प्रविधि जसले उत्पादन क्षमता र लाभ दुवै बढाउँछ । त्यसको उदाहरण हो काचाल्का सिँचाइ प्रविधि (डिस्क्रेट इरिगेट सिस्टम) ।

सामान्यतया ट्याङ्की वा ड्रममा पानी राखेर सतह सिँचाइ गर्दा धेरै पानी खेर जान्छ । प्रभावकारी सिँचाइ गर्न कठिन हुन्छ । तर चितवनको भरतपुर–१६, विजयनगरका प्राडा ई भगवानदास मानन्धरले विकास गरेको काचाल्का प्रविधिले बिरुवालाई आवश्यक मात्रामा पानी पु-याउँदै, थोपा–थोपा सिँचाइ गरी पानी बचत गर्न सफल भएको छ । यो प्रविधिको प्रभावकारितामा मानन्धर लामो समयदेखि जुट्दै आएका छन् । उनले देश विदेशका विभिन्न क्याम्पसमा अध्ययन अध्यापन गर्दै प्राप्त अनुभवलाई अवकाश जीवनमा कृषि क्षेत्रमा व्यावहारिक रुपमा प्रयोग गरेका हुन् ।

प्रविधिको विकास गरे पनि लामो समयसम्म व्यवहारमा लागू नहुँदा मानन्धर आफैँ प्रत्यक्ष रूपमा यसको प्रयोगमा जुटेका हुन् । उनले अब आफैँले गरेर देखाउँदै किसानसमक्ष यो प्रविधि पु¥याउने लक्ष्य राखेका छन् । झट्ट हेर्दा यहाँको प्रणाली सामान्य सतह सिँचाइ जस्तो देखिन्छ, तर वास्तवमा यसमा लामो अनुसन्धान र परीक्षणबाट प्रमाणित प्रभावकारी सिँचाइ प्रविधि प्रयोग गरिएको छ । प्राडा मानन्धरले आफ्नो जीवनको लामो समय खर्चेर यो प्रविधि विकास गरेका हुन् । जसले किसानलाई पानीको खपत कम गर्दै उत्पादन र सिँचाइ दक्षता बढाउने अवसर प्रदान गर्दछ ।

उनले आफ्नै जग्गामा सुन कागती खेती गरी यही प्रविधिबाट सिँचाइ गर्दै आउनुभएको छ । त्यसबाट काचाल्काको कार्यक्षमता प्रमाणित भएको छ । सुख्खा मौसममा लगाइने तरकारीबाली तथा अन्य बाली होस् वा बागवानीका लागि सिँचाइ सहज बनाउन उहाँले काचाल्का र क्यापिलरी सिँचाइ प्रविधि प्रयोग गरेका छन् ।

कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, रामपुर पक्लिहवा कृषि क्याम्पसलगायतका क्याम्पसमा २३ वर्ष लामो प्राध्यापन गरेका मानन्धरले आफ्नो अध्ययनको विषयलाई व्यवहारमा ल्याउन जागिर छाडेर यो प्रविधि प्रयोगमा ल्याएका हुन् । उनले यस प्रविधिबाट सिँचाइ गर्न पहिला ट्याङ्कीलाई जमिनमाथि उचाइमा राखेर, त्यहाँबाट मुल पाइप र भल्भको प्रयोग गर्दै पाइपको पानीलाई सिधा वितरण गरेका छन् ।

चार कठ्ठा जमिनको सिधा भागमा हरेक स्थानमा दुईवटा पानीका डब्बा बनाइएको छ ।  पाँच लिटर, चार लिटर र तीन लिटर क्षमताका, जम्मा १३ स्थानमा डब्बा राखिएका छन् । जसले दायाँ र बाँयाँ ढल्केर पानी पोखाएर सिँचाई गर्छ ।  सिँचाइका क्रममा एउटा डब्बामा पानी भरिएपछि, अर्को डब्बामा पानी भर्ने गरिन्छ  । यसरी सिँचाइ गर्दा बिरुवामा कुनै असर नपर्ने र पानीको खपत कम हुन्छ । काचाल्का प्रविधिमा, ट्याङ्कीको प्रयोग गरेर पानीलाई थोपा–थोपा जस्तो नियन्त्रण गरी बिरुवालाई आवश्यक मात्रामा उपलब्ध गराइन्छ । “यसमा पानी खेर जाँदैन र खेतमा जम्दैन पनि । यो प्रविधि अन्य सिँचाइ प्रणालीभन्दा बढी उपयुक्त र प्रभावकारी छ,” प्राडा मानन्धरले भने ।

उनकाअनुसार काचाल्का रूसी शब्द हो, जसको अर्थ पानी व्यवस्थापनमा प्रयोग हुने एउटा सानो ट्याङ्की वा चेम्बर ढिकिच्याउ प्रकारको संरचना हो । यसले मुख्य मुहान वा ठूलो ट्याङ्कीबाट आएको पानी पाइपमार्फत काचाल्कामा जम्मा गर्छ । काचाल्का भरिएपछि पानी अर्को दिशामा बग्ने गरी व्यवस्था गरिएको हुन्छ । यो टिन, धातु, माटो, ढुङ्गा वा कंक्रिटबाट बनेको हुन्छ । सानो पोखरी वा भाँडो जस्तो देखिने काचाल्कामा पानी जम्मा हुने र बाहिर निस्कने दुईवटा भाग हुन्छन् । विशेष गरी सिँचाइ व्यवस्थामा पानीको दबाब र वितरण नियन्त्रण गर्न यसले महत्वपूर्ण भूमिका खेल्छ । ट्याङ्कीबाट गएको मुख्य पाइपमा जडान गरिएको सानो धारामा पानी खोल्ने र बन्द गर्ने सुविधा हुन्छ । सरल भाषामा भन्नुपर्दा, काचाल्का भनेको पानी जम्मा गर्ने र आवश्यकताअनुसार अर्को ठाउँमा पठाउने सानो नियन्त्रण ट्याङ्की हो ।

प्राडा मानन्धरले सन् १९९३ मा विद्यावारिधी गर्ने क्रममा यो प्रविधि विकास गर्नुभएको थियो । त्यसको दुई वर्षपछि औपचारिक रूपमा यो प्रविधि प्रस्तुत गरिएको थियो । त्यतिबेला इटलीको मान्तोभामा यसको सफल परीक्षण पनि गरिएको थियो । नेपाल फर्किएपछि अध्यापनका क्रममा विद्यार्थीहरूलाई उनले यो प्रविधि सिकाए, तर व्यवहारमा कसैले लागू गरेनन् । “कर्तव्य पूरा गर्न अब म आफैँ फिल्डमा आएको छु । मैले जागिर नै छोडेर अहिले कृषिमा लागेको छु”, उनले भने,  “यो प्रविधि किसानहरूसम्म व्यावहारिक रूपमा पु-याउनु नै मेरो उद्देश्य र कर्तव्य पनि हो ।”

विश्वमै काचाल्का सिँचाइ प्रविधि प्रभावकारी र उपयोगी प्रविधिका रूपमा विकसित हुने प्राडा मानन्धरको दाबी छ । विश्वका अधिकांश स्थानमा खेतमा कुलोबाट सिँचाइ गर्ने प्रचलन छ । जसले बढी श्रम, खर्च र पानीको खपत गराउँछ । काचाल्का सतहमा आधारित, सिँचाइ प्रविधि हो । उनले भने, “काचाल्का सतहमा आधारित, मेकनाइज गरिएको सेमि–अटोमेटिक इरिगेसन सिस्टम हो, जसले बिरुवा वा खेतलाई आवश्यक मात्र पानी मात्र उपलब्ध गराउन सक्छ । खेतको आकार अनुसार पानी वितरण गर्न सकिन्छ । यो प्रविधि थोपा–स्प्रिङकलिङ प्रणालीभन्दा सस्तो छ । किसानले आफैँ निरीक्षण गरेर बिग्रिएको भाग देख्न र आवश्यक परे आफैँ बनाउन पनि सक्छन् ।”

उनका अनुसार यस प्रविधिमा पानी नियन्त्रण गर्ने उपकरणहरू जडान गरिएको हुँदा खेतको क्षेत्रफल, माटोको बनावट अनुसार पानी वितरण गर्न सकिन्छ । काचाल्का सिँचाइ प्रविधिको सिँचाइ दक्षता करिब ९३ प्रतिशत र पानी वितरणको समानता ९५ प्रतिशत छ । इच्छुक किसानले यो प्रविधि प्रयोग गर्न चाहेमा उहाँले आवश्यक सहयोग उपलब्ध गराउने बताए । साथै, चितवनको कृषि विकास कार्यालयमार्फत पनि इच्छुक किसानहरूले सम्पर्क गर्न सक्ने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *