पच्चीस सय वर्ष पुरानो सुनौलो हेलमेट चोरीपछि फिर्ता

वासिङ्टन । गत वर्ष नेदरल्यान्ड्सको एक सङ्ग्रहालयबाट चोरी भएको रोमानियाको पच्चीस सय वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट अन्ततः बरामद भएको छ, जसले लामो समयदेखि रहँदै आएको अनिश्चितता अन्त्य गरेको छ ।

डच अधिकारीहरूले बिहीबार उक्त ऐतिहासिक वस्तु सुरक्षित रूपमा फिर्ता ल्याइएको जानकारी दिएका छन् ।

पूर्वी डच सहर एसेनमा आयोजित पत्रकार सम्मेलनमा कडा सुरक्षाबीच अभियोजकहरूले डेसिया सभ्यतासँग सम्बन्धित कोटोफेनेस्टी हेलमेट सार्वजनिक गरेका हुन् । अभियोजन सेवाकी कोरिएन फाहनरले हेलमेट फिर्ता हुनु अत्यन्तै सुखद उपलब्धि भएको उल्लेख गर्दै यो प्रक्रिया निकै उतारचढावपूर्ण रहेको बताइन्।

उक्त हेलमेट जनवरी २०२५ मा ड्रेन्ट्स सङ्ग्रहालयमा आयोजना गरिएको छ महिनाको प्रदर्शनीको अन्तिम सप्ताहन्तमा चोरी भएको थियो । चोरहरूले तीनवटा सुनौलो हातमा लगाउने गहना (आर्मब्यान्ड) सहित सङ्ग्रहालयमा प्रवेश गरी हेलमेट लुटेका थिए । घटनापछि यसको ऐतिहासिक महत्त्व र विशिष्ट बनावटका कारण बेच्न कठिन हुने भएकाले पगालिएको हुन सक्ने आशङ्का गरिएको थियो ।

चोरीसँग सम्बन्धित आरोपमा पक्राउ परेका तीन जनासँग अभियोजकहरूले गरेको सम्झौताअन्तर्गत हराइरहेका तीनमध्ये दुई आर्मब्यान्ड पनि बरामद भएका छन् । ती अभियुक्तहरूको मुद्दा यसै अप्रिलमा सुरु हुने जनाइएको छ । बाँकी एक आर्मब्यान्डको खोजी भने अझै जारी रहेको अधिकारीहरूले बताएका छन् ।

बरामद गरिएको हेलमेट पूर्ण रूपमा अक्षुण्ण अवस्थामा भने छैन । ड्रेन्ट्स सङ्ग्रहालयका निर्देशक रोबर्ट भ्यान ल्याङका अनुसार यसमा केही सामान्य दाग देखिए पनि स्थायी क्षति भने नभएको स्पष्ट पारे । आर्मब्यान्डहरू भने राम्रो अवस्थामा फेला परेका छन् ।

अनुसन्धानका क्रममा सार्वजनिक गरिएको सुरक्षा भिडियोमा चोरहरूले घरमै बनाइएको विस्फोटक र स्लेजह्यामर प्रयोग गरी सङ्ग्रहालयको ढोका फुटाएर प्रवेश गरेको देखिन्छ । त्यसपछि उनीहरूले लक्षित वस्तुहरू लिएर फरार भएका थिए ।

यो घटनाले नेदरल्यान्ड्स र रोमानियाबीच कूटनीतिक तनावसमेत सिर्जना गरेको थियो । रोमानियाका न्याय मन्त्री राडु मरिन्स्कुले यसलाई ‘राज्यविरुद्धको अपराध’ भन्दै चोरी गरिएका सम्पदा फिर्ता ल्याउने कार्यलाई उच्च प्राथमिकतामा राखिएको बताएका थिए ।

अब हेलमेट फिर्ता भएसँगै दुवै देशका लागि महत्त्वपूर्ण सांस्कृतिक सम्पदा पुनः सुरक्षित भएको छ, यद्यपि यसको पूर्ण पुनःस्थापना र बाँकी वस्तुको खोजी कार्य अझै जारी रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *