काठमाडौं । परराष्ट्र मन्त्रालयले इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झा सकुशल रहेको जनाएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले झालाई हाल इरानको कारागारमा राखेर मुद्दा चलिरहेको जानकारी दिए । उनका अनुसार झा मध्यपूर्वमा तनाव सुरु हुनुभन्दा पहिले नै पक्राउ परेका हुन् ।
सम्बन्धित अदालतबाट निर्णय हुन बाँकी रहेको र सजायबारे अहिले केही भन्न सक्ने अवस्था नरहेको क्षेत्रीले बताए । उनले परराष्ट्र मन्त्रालयले थप जानकारी लिने प्रयास गरिरहेको र एकजना वकिलले भेटिसकेको बताए ।
हालसम्म मध्यपूर्व क्षेत्रमा भएको आक्रमणमा परी एक जना नेपालीको मृत्यु भएको र २१ जना घाइते भएका मन्त्रालयले जनाएको छ । घाइतेमध्ये अधिकांशले सामान्य उपचारपछि फर्किएको बताइएको छ । हालसम्म ११ जना नेपाली पक्राउ परेको जानकारी प्राप्त भएको मन्त्रालयले जनाएको छ ।
