गति अनुसार मति बनाऔंः ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई स्मरण गर्दै वर्तमान चुनौतीको सामना गर्न एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन् ।

शुक्रबार सामाजिक संजालमार्फत नेता पोखरेलले एमाले स्थापना कालदेखि नै प्रतिकूल परिस्थितिसँग जुध्दै सुसंगत विचार, व्यवस्थित विधि–पद्धति, सामूहिक नेतृत्व प्रणाली तथा नियन्त्रण र सन्तुलनको अभ्यासका आधारमा सुदृढ हुँदै आएको बताएका हुन् । उनले पार्टीले जनतामाझ आफ्नो स्पष्ट पहिचान र हैसियत स्थापित गर्नुपर्ने बताए।

यस्तो छ पोखरेलको भनाई

नेकपा (एमाले) को रक्षाका लागि
नेकपा (एमाले) आफ्नो स्थापना कालदेखिनै, प्रतिकूलताहरूसित जुद्धै सुसंगत विचार, व्यवस्थित विधि/पद्धति, सामूहिक नेतृत्व प्रणाली, पार्टीभित्र नियन्त्रण अनि सन्तुलनको व्यवस्थित अभ्यासका आधारमा सुदृढ हुंदै आएको संगठनात्मक संजाल, आत्मसमीक्षा तथा आलोचनात्मक चेतबाट निर्देशित हुंदै आएको पार्टी हो । यिनै कुराबाट प्राप्त उर्जा र शक्तिको बलमा यसले जनताको विचमा आफ्नो हैसियत स्थापित गर्दै आएको हो । यिनै यिनै कुराबाट नेकपा (एमाले)ले आफ्नो ओजस्विता र जीवन शक्तिप्रति गर्व गर्दै आएको पनि हो । २०८२ मंसीरमा सम्पन्न ११ औं राष्ट्रिय महाधिवेशनमा थुप्रै अप्ठ्याराहरूका बीचमा यिनै विषयलाई नयाँ उचाइबाट स्थापित गर्नुपर्छ भन्ने विषयमा विशेष जोड दिदै, पार्टीलाई नयां जीवन र गति दिने उद्देश्यका साथ गंभीर वहस ÷ छलफलको पहल र प्रयत्न भएको पनि हो । नेकपा (एमाले) का सबै जिम्मेवार नेता, कार्यकर्ता, समर्थक÷ शुभचिन्तक ले नेकपा ( एमाले) को जीवनसित अविछिन्न रूपले गांसिएको यो पृष्ठभूमिलाई कहिल्यै बिर्सनु हुने छैन । यिनै चीजको निरन्तरतामा मात्र हामीहरू अगाडि बढ्न सक्छौं । हामीमाथि अहिले भइरहेका चौतर्फी षडयन्त्रपूर्ण हमलाको मुकाविला गर्दै लडेको ठाउँबाट धुलो टक्टक्याउंदै उठ्न सक्छौं ।

सिद्धान्तहीन सत्ता स्वार्थ, यसैबाट निर्देशित हुंदै प्रकट हुने सत्ता अवसरवाद, आत्मकेन्द्रित भई प्रकट हुने अभिव्यक्तिहरू, विधि/पद्धति विपरीत गतिविधिहरू अत्यन्त हानिकारक विषय हुन् । यी कुराबाट बच्दै पार्टीलाई नेपाली जनताको प्रिय पार्टी बनाउन, यसलाई नयाँ स्तरमा गतिवान बनाउन एकतावद्ध भएर अगाडि बढ्नु अहिलेको आवश्यकता हो । गतिलाई बुझ्नैपर्छ । गति अनुसार मति बनाऔं ( विकसित परिस्थिति अनुसार आफ्ना चिन्तनर व्यवहारमा सुधार गरौं !) आफ्ना ( बिग्रिएका ) मति अनुकूल गतिलाई बुझ्ने मुर्खता नगरौं ! गति अनुसार मति सपार्ने काममा लागौं ! सिंगो एमाले पंक्तिले यो कुरा बुझौं !! अहिले चुनौतीको भूमरीमा परेको एमालेलाई यसरी मात्र बचाउन सकिन्छ– यसरी मात्र रक्षा गर्न सकिन्छ !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *