रास्वपालाई ज्ञानेन्द्र शाहीको प्रस्तावः प्रदेश संरचना खारेज गरौँ, हाम्रो साथ रहन्छ

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारलाई जनताप्रति उत्तरदायी बन्न र विधिको शासन प्रभावकारी रूपमा लागू गर्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा उनले सरकार जनताप्रति उत्तरदायि बनेर मुलुकको समृद्धिमा अगाडि बढ्न सुझाव दिए ।

शाहीले भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनका क्रममा भएका घटनाको सत्यतथ्य छानबिन गर्नुपर्नेमा जोड दिए । प्रजातान्त्रिक मूल्य र मान्यतामा आधारित शासन सञ्चालन हुनुपर्ने उल्लेख गर्दै उनले जनताको आशा र भरोसाको दियो निभ्न नदिई त्यसलाई अझ मजबुत बनाउनुपर्ने बताए ।

‘नेपालमा धेरै पटक व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था अपेक्षाअनुसार परिवर्तन हुन सकेको छैन’, शाहीले भने,’देशमा भएका सबै भ्रष्टाचारका फाइल खोलिनुपर्ने र पछिल्लो समय दल परिवर्तन मात्र नभई पुस्ता परिवर्तनसमेत भएकाले सोहीअनुसार काम हुनुपर्छ ।’

शाहीले प्रदेश संरचना खारेज गर्न वर्तमान सरकारलाई दुई तिहाइ बहुमत पुर्याउन आफ्नो दल तयार रहेको बताए । उनले अनावश्यक प्रदेश संरचना सञ्चालनका लागि वार्षिक १ खर्ब रकम खर्च भइरहेको बताए ।

उनले भने, ‘देशमा ८८४ जना सांसद छौं । प्रदेश संरचना पाल्न १ खर्ब खर्च हुने अवस्था छ । राजनीतिक दलका कार्यकर्ता सेटलमेन्ट गर्न ल्याइएको प्रदेश संरचना यही संसद्बाट यही सरकारले खारेज गर्छ भने दुई तिहाइ बहुमत पुर्याउन १८४ चाहिन्छ १८७ हामी पुर्याउँछौं ।’

शाहीले विकास बजेट कटौती गरेर राजनीतिक संरचना पाल्नु मुलुकका लागि दुर्भाग्यपूर्ण भएको बताए । उनले निर्मला पन्त र इनिशा विकजस्ता घटनाका पीडितले समयमै न्याय पाउनुपर्नेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *