जकार्ता । इन्डोनेसियाको पूर्वी तट नजिक बिहीबार बिहान ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण कम्तीमा एक जनाको ज्यान गएको पुष्टि भएको छ भने केही समयका लागि सुनामी चेतावनी समेत जारी गरिएको थियो ।
भूकम्पपछि त्रास फैलिँदा स्थानीय बासिन्दाहरू घरबाट बाहिर निस्किएका थिए । यद्यपि, केही घण्टाभित्रै सुनामीको चेतावनी हटाइएको अधिकारीहरूले जनाएका छन्। घटनाले उक्त क्षेत्रको उच्च भूकम्पीय जोखिम पुनः उजागर गरेको छ ।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएस जियोलोजिकल सर्वे) का अनुसार भूकम्प ३५ किलोमिटरको गहिराइमा, सुलावेसी र मलुकु टापु समूहबीच रहेको मोलुक्का सागर क्षेत्रमा केन्द्रित थियो । कम्पन उत्तर इन्डोनेसियाका विभिन्न भागहरूमा व्यापक रूपमा महसुस गरिएको थियो ।
उत्तर सुलावेसी प्रान्तको राजधानी मनाडोमा भूकम्पका कारण संरचनात्मक क्षति पुगेको छ। कम्तीमा एक भवन भत्किएको स्थानीय स्रोतहरूले जनाएका छन्।
