काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले बुधबार पोर्चुगलका विदेशमन्त्री पाउलो रान्जेलसँग टेलिफोन वार्ता गरेका छन् । उक्त अवसरमा मन्त्री खनालले पोर्चुगलमा रहेका नक्कली छाप (फेक स्ट्याम्प) सम्बन्धी समस्याका कारण कानुनी तथा प्रक्रियागत कठिनाइमा परेका दुई हजारभन्दा बढी नेपाली नागरिकहरूको अवस्थाबारे ध्यानाकर्षण गराएका थिए ।
त्यहाँ रहेका नेपाली नागरिकका वास्तविक कागजात, जस्तै प्रहरी चारित्रिक प्रमाणपत्रमा नक्कली रूपमा प्रमाणीकरण गरिएको देखिने समस्या उठेको छ ।
सो अवसरमा विदेशमन्त्री रान्जेलले पोर्चुगलको अर्थतन्त्रमा नेपाली समुदायले पुर्याएको योगदानको प्रशांसा गर्दै प्रभावित नेपाली नागरिकको मुद्दा मानवीय दृष्टिकोणबाट समीक्षा गर्न सम्बन्धित निकायसँग सकारात्मक रूपमा उठाउने आश्वासन दिएको मन्त्रालयले जनाएको छ ।
वार्ताका क्रममा मन्त्री रान्जेलले मन्त्री खनाललाई नेपालको परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हालेकामा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । त्यसैगरी उनीहरूले द्विपक्षीय सम्बन्धप्रति सन्तुष्टि व्यक्त गर्दै जलविद्युत्, कृषि, पर्यटन, पूर्वाधार विकास तथा सूचना प्रविधिलगायतका क्षेत्रमा सहकार्य अझ सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
