काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा बागमती प्रदेश र लुम्बिनी प्रदेश विजयी भएका छन् । बुधबार दिउँसो भएको खेलमा बागमतीले कर्णाली प्रदेशलाई ६० रनले पराजित गरेको छ ।
जनकपुरमा भएको खेलमा पहिले ब्याटिङ गरेको बागमतीले ३८.४ ओभरमा अलआउट हुँदै १ सय ८० रन जोडेको थियो । बागमतीको लागि विवेक मगरले अर्धसतक बनाए । उनले ८० बलमा ४ छक्का र दुई चौकाको मद्दतमा ५६ बनाए । यस्तै इशान पाण्डेले २७, पवन थापाले २२, शुभ कान्सकरले २० र शिभन तिवारीले १८ रन बनाए ।
कर्णालीको लागि दिवन पुनले तीन विकेट लिँदा प्रकाश जैशी, दीपेन्द्र रावत र निश्वल रावलले दुई/दुई विकेट लिए ।
जवाफी ब्याटिङमा उत्रिएको कर्णाली २५.१ ओभरमा अलआउट हुँदै १ सय २० रनमा समेटिएको हो । कर्णालीको लागि निश्वल रावलले ३१, दिनेश अधिकारिले २२, विपिन शाहीले १५, सुनिल धमलाले १४ र कप्तान दिवन पुनले १० रन जोडे ।
कर्णालीलाई सस्तैमा समेट्न बागमतीका कप्तान सन्दीप लामिछानेले ९.१ ओभरमा १ मेडन राख्दै ४० रन दिएर सात विकेट लिए । रिजन ढकाल, प्रतिष जिसी र सुबास खत्रीको नाममा एक/एक विकेट रह्यो ।
जितसँगै बागमती ५ खेलबाट ४ अंक जोड्दै अंक तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । समान खेलबाट ३ अंक जोडेको कर्णाली आठौँ स्थानमा रहेको छ ।
आजै भएको अर्को खेलमा लुम्बिनी प्रदेशले विभागीय टोली नेपाल एपीएफ क्लबलाई सुपर ओभरमा पराजित गरेको हो । जितसँगै लुम्बिनी ५ खलेबाट ५ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा रहेको छ । समान खेलबाट ३ अंक जोडेको एपीएफ सातौँ स्थानमा रहेको छ ।
