पर्सा । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा २३ अर्ब ५७ करोडका सवारीसाधन तथा पार्टपुर्जा भित्रिएका छन् । गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा मूल्यको आधारमा सवारीसाधन र पार्टपुर्जाको आयात ६ अर्ब ४२ करोडले बढी हो ।
वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार चालु आवमा सवारीसाधन र पार्टपुर्जाको आयातमा वुद्धि भएको छ । भन्सार कार्यालयले चालु आवको सात महिनामा सवारीसाधन र पार्टपुर्जा आयातबाट मात्र १६ अर्ब ७३ करोड राजस्व सङ्कलन गरेको छ । जबकि गत आवको सात महिनामा १७ अर्ब १५ करोडका सवारीसाधन र पार्टपुर्जा आयात हुँदा १३ अर्ब २६ करोड राजस्व सङ्कलन भएको थियो।
चालु आवको सात महिनामा एक अर्ब १६ करोड १३ लाखका छ सय नौवटा इन्धनबाट चल्ने जिप, कार र भ्यान आयात भएको छ । ती सवारीसाधन आयात हुँदा दुई अर्ब ८६ करोड राजस्व सङ्कलन भएको छ । जबकि गत आवको सात महिनामा भने एक अर्ब ५० करोडका सात सय ४८ वटा इन्धनबाट चल्ने जिप, कार र भ्यान आयात भएको थियो । ती सवारीसाधन आयात हुँदा ३ अर्ब ७३ करोड राजस्व सङ्कलन भएको थियो ।
