विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकले ‘प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान ऐन, २०७९’ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको छ ।
बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले विधेयक पारित गरियोस् भनी प्रस्ताव गरेका छन् । सभामुख सिर्जना दनुवारले उक्त प्रस्ताव निर्णयार्थ पेस गर्नु भएपछि सर्वसम्मतले पारित गरिएको हो ।
यसअघि कोशी प्रदेशसभा सदस्य रेवतीरमण भण्डारीले विधेयक संशोधनमा पाँच बुँदामा प्रस्ताव राखेका थिए । मन्त्री पराजुली उक्त प्रस्ताव स्वीकार गर्नु भएपछि प्रस्तावक भण्डारीले उक्त प्रस्ताव फिर्ता लिएका थिए ।
आजै सामाजिक विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धमा मन्त्री रामप्रसाद मेहताले जवाफ दिए । उनले भाषा आयोगबाट सिफारिस भई आएको मैथिली र लिम्बू भाषा सरकारी कामकाजको भाषा बनाउन बनाइएको विधेयक विषयगत समितिमा छलफल भइरहेको जानकारी दिए ।
सभासभा सदस्य खिनु लङ्वा लिम्बूले राखेको जिज्ञासामा मन्त्री मेहताले आगामी बजेट अधिवेशनमा दलित सशक्तीकरण विधेयक पनि पेस गरिने बताए ।
आजकै बैठकमा सुशासन तथा योजना समितिका सभापति खगेश्वरी पौडेलले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरे।
