लेबनान । दक्षिणी लेबनानमा भएको विस्फोटमा थप दुई संयुक्त राष्ट्रका शान्ति सैनिकको मृत्यु भएको छ । इजरायलले लेबनानमा स्थल आक्रमण विस्तार गरेयता संयुक्त राष्ट्र बलसँग सम्बन्धित पछिल्लो घातक घटनाका रूपमा यो घटना भएको हो ।
युनिफिलका अनुसार सोमबार दक्षिणी लेबनानको बानी हय्यान गाउँ नजिक अज्ञात कारणले भएको विस्फोटमा शान्ति सैनिक सवार सवारी साधन नष्ट हुँदा दुई जनाको ज्यान गएको हो । उक्त घटनामा एक जना शान्ति सैनिक गम्भीर घाइते भएका छन् भने अर्का एक जना पनि घाइते भएका छन्।
‘शान्तिको सेवामा ज्यान गुमाउनु पर्ने अवस्था आउनु हुँदैन,’ युनिफिलले वक्तव्यमा भनेको छ । यसअघि आइतबार दक्षिणी लेबनानकै आदशित अल–कुसैर गाउँ नजिक युनिफिलको एक पोस्टमा प्रक्षेप्य विस्फोट हुँदा एक शान्ति सैनिकको मृत्यु भएको थियो ।
