मकवानपुरमा डेङ्गी सङ्क्रमणमा वृद्धि

बागमती । पछिल्लो समय मकवानपुरमा डेङ्गी सङ्क्रमण बढ्दै गएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्षको साढे आठ महिनामा २१२ जना डेङ्गी सङ्क्रमित भेटिएका छन् । सबैभन्दा बढी डेङ्गीबाट हेटौँडा उपमहानगरपालिका प्रभावित छन् ।

हेटौँडामा १६९ जना, भीमफेदी गाउँपालिकामा १७ जना, मकवानपुरगढी र मनहरी गाउँपालिकामा नौ/नौ जना, बकैयाँ गाउँपालिकामा तीन जना, बागमती गाउँपालिका र कैलाश गाउँपालिकामा दुई/दुई जना डेङ्गीबाट सङ्क्रमित भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए ।

उनका अनुसार मकवानपुर राक्सीराङ गाउँपालिकामा पनि एक जना डेङ्गी सङ्क्रमित भेटिएको छ । यस्तै मकवानपुरका ४८ जना स्क्रब टाइफसबाट पीडित भएका छन् । जसमध्ये हेटौँडामा मात्र २६ जना रहेको सूचना अधिकारी घिमिरेले बताउनुभयो ।

जिल्लामा डेङ्गी र स्क्रब टाइफसका बिरामी बढ्दै गएपछि लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान सुरु गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *