वीरगञ्ज (पर्सा) । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्र्तगत आजको खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई १२ रनले पराजित गरेको छ । आज वीरगञ्जको नारायणी रङ्गशालामा भएको खेलमा सुदूरपश्चिमले ४५ दशमलव ४ ओभरमा १० विकेटको क्षति व्यहोर्दै १६८ रन गराएको थियो । जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनी प्रदेशले ४० दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १५६ रनमा सीमित भएको थियो ।
सुदूरपश्चिमको तर्फबाट दीपक बोहराले ३० रन, हेमन्त धामीले २९ रन र किरण ठगुन्नाले १९ रन जोडेका थिए । त्यस्तै लुम्बिनीको तर्फबाट सन्तोष यादव र अजय चौहानले सामान ४–४ विकेट लिएका थिए । लुम्बिनीको तर्फबाट सन्तोष यादवले ६७ रन र ध्रुव सुनारले ३६ रन जोडेका थिए । सुदूरपश्चिमका शेर मल्ल र खडक बोहराले समान ३–३ विकेट लिएका थिए ।
यसैगरि सुदूरपश्चिमका हेमन्त धामीले पनि २ विकेट लिएका थिए । प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब र सात प्रदेशका गरी १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँ र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
