इरानको खार्ग टापु कब्जा गर्ने ट्रम्पको संकेत

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको खार्ग टापु सहजै कब्जा गर्न सकिने बताएका छन् । फाइनान्सियल टाइम्सको अन्तवार्तामा उनले यस्तो बताएका हुन् ।

उनले आफूलाई इरानको तेल लिन मन लागेको तर अमेरिकाभित्रका केही मूर्ख मानिसहरुले विरोध गरेको बताए । उनले भने, ‘साँचो भन्नुपर्दा, मेरो मनमा लागेको कुरा भनेको इरानको तेल लिनु हो तर अमेरिकाभित्रका केही मूर्ख मानिसहरू भन्छन्– तिमी किन त्यसो गरिरहेका छौ ? ती मूर्ख मानिसहरू हुन् ।’

ट्रम्पले यस्तो अभिव्यक्तिबाट खार्ग टापु कब्जा गर्न सकिने संकेत गरेको बीबीसीले जनाएको छ । उनले भने, ‘सायद हामी खार्ग टापु लिन्छौँ, सायद लिँदैनौँ, हामीसँग धेरै विकल्प छन् । यसको अर्थ हामी केही समय त्यहाँ (खार्ग टापुमा) बस्नुपर्ने हुन्छ ।’

अमेरिकाका थप ३ हजार ५०० अमेरिकी सैनिकहरू मध्यपूर्वमा पुगेको बेला राष्ट्रपति ट्रम्पको यस्तो अभिव्यक्ति आउनुलाई अर्थपूर्ण मानिएको छ । खार्ग टापु इरानको दक्षिणी भागमा पर्सियन खाडीमा अवस्थित सानो तर अत्यन्तै रणनीतिक महत्वको टापु हो ।

यो विशेषगरी इरानको तेल निर्यातको मुख्य केन्द्रका रूपमा परिचित छ । इरानको सबैभन्दा ठूलो तेल निर्यात टर्मिनलको रुपमा परिचित यो टापुबाट इरानको अधिकांश कच्चा तेल अन्तर्राष्ट्रिय बजारमा पठाइन्छ । त्यसैले यसलाई इरानको ऊर्जा अर्थतन्त्रको लाइफलाइन जस्तै मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *