काठमाडौं । लुम्बिनी प्रदेशकी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ परेकी छिन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको धुम्बराहीबाट आइतबार मध्यराति उनलाई पक्राउ गरेको हो ।
उनीमाथि १४ वर्षीया बालिकालाई घरेलु मजदुरका रूपमा ६ वर्षसम्म बन्धक बनाई शारीरिक यातना दिएको आरोप लागेको थियो ।
यसअघि सरकारी वकिल कार्यालय काठमाडौंले बाल श्रमशोषणमा उनीविरुद्ध मुद्दा नचलाउने निर्णय लिएको थियो भने उच्च सरकारी वकिल कार्यालय पाटनले पनि यसलाई वैधता दिएको थियो । शर्मा दाङ तुल्सीपुर उपमहानगरपालिका– ५ की स्थानीय हुन् ।
उनी एमालेकातर्फबाट प्रदेशसभा सदस्य हुन् । उनको धुम्बाराहीमा निजी निवास छ । सोही निवासमा कक्षा ७ मा अध्ययनरत १४ वर्षीया बालिकालाई ६ वर्षदेखि बन्धक बनाई राखेकी थिइन् । बालिकाको काठमाडौं महानगरपालिकाले गतवर्ष उद्धार गरेको थियो ।
त्यतिबेला काठमाडौँ महानगरका मेयर हुँदा बालेन साहले कारबाहीको माग गरेका थिए । दबाबपछि उनीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयमा मुद्दा दर्ता भएको थियो । तर, मुद्दा अदालतसम्म पुग्न सकेको थिएन । सरकारी वकिल कार्यालय सोही मुद्दा नचलाउने निर्णयमा पुगेको हो ।
