काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले आन्दोलन कमजोर पार्न आफूलाई गिरफ्तार गरिएको भन्दै भ्रम फैलाइएको बताएका छन् । बस्नेत गिरफ्तारीमा परेको भन्दै सामाजिक संजालमा समाचार भाइरल बनाइएपछि बस्नेतको यस्तो भनाई आएको हो ।
उनले भनेका छन्, ‘मलाई गिरफ्तारी गरी हाम्रो अध्यक्ष केपी शर्मा ओली विरुद्ध भइरहेको प्रतिशोधात्मक गिरफ्तारीको विरोधमा उठेको आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ । तीन वर्षअघि नै एउटा फेक व्यक्तिलाई अगाडि सारेर मेरो विरुद्ध झुट्टा जाहेरी दर्ता गराइएको थियो। उक्त जाहेरी प्रहरी अनुसन्धानबाट नै फर्जी प्रमाणित भइसकेको छ, र सोही विषयमा उच्च अदालत पाटन मा दायर गरिएको रिट समेत अदालतले खारेज गरिसकेको छ। सोही बिषयमा पुनः पूरक जाहेरी दर्ता गरी मुद्दा अदालतमा विचाराधीन रहेको छ्। यस्तो अवस्थामा फेरि उही व्यक्तिलाई प्रयोग गरेर तेस्रो पटक नक्कली जाहेरी दिन लगाई मलाई पक्राउ गर्ने योजना बनाएर मिडिया ट्रायल गरिँदैछ।’
उनले यस कार्यमा प्रधानमन्त्री बालेन साह र गृहमन्त्री सुदन गुरुङ संलग्न रहेको बताएका छन् । उनले भनेका छन्, ‘यो कार्य बालेन साह नेतृत्वको निरंकुश र अधिनायकवादी शैलीको सरकार तथा गृहमन्त्री सुदन गुरुङद्वारा सञ्चालित कुकर्म हो। यस्ता कार्यहरूको प्रतिफल उनीहरूले अवश्य भोग्नुपर्नेछ । मेरो फोन अफ रहेको र म फरार भएको भन्ने प्रचार पूर्णतः भ्रामक र गलत हो। यस्ता हल्ला फैलाएर जनमत भ्रमित गर्ने प्रयास भइरहेको छ। यस्ता कुकर्महरूको परिणाम अन्ततः सम्बन्धित पक्षका लागि नै कठिन सावित हुनेछ।’
