कास्की । नवलपरासीको बौदीकाली गाउँपालिकाले गण्डकी प्रदेश अन्तरपालिका ‘अध्यक्ष कप’ भलिबल प्रतियोगिताको उपाधि जितेको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको आयोजनामा यही चैत ११ गतेदेखि गाउँपालिकाको केन्द्र लाहाचोकको महेन्द्र मावि खेलमैदानमा सञ्चालन भएको प्रतियोगिताअन्तर्गत आज भएको फाइनल खेलमा तनहुँको शुक्ला गण्डकी नगरपालिकालाई ३–२ को प्रतिस्पर्धात्मक सेटमा हराउँदै बौदीकालीले उपाधि जितेको हो ।
च्याम्पियन बनेको बौदीकालीले ट्रफीसहित दुई लाख पुरस्कार पाउँदा उपविजेता शुक्लागण्डकीले एक लाख पुरस्कार पायो । बौदीकालीले पहिलो सेट २५–१७ ले आफ्नो पक्षमा पार्दा दोस्रो र तेस्रो सेट शुक्लालाई २१–२५ र २२–२५ ले सुम्पियो । चौथो सेटमा २५–१७ ले पुनरागमन गर्न सफल भयो । अन्तिम सेट १५–११ ले जित्दै बौदीकाली च्याम्पियन बन्न सफल भयो ।
सेमिफाइनलमा पुगेका कास्कीको अन्नपूर्ण गाउँपालिका र स्याङ्जाको बिरुवा गाउँपालिकाले नगद २५÷२५ हजारका दरले पुरस्कार, ट्रफी र मेडल प्राप्त गरेका छन् । पुरुषतर्फ बौदीकालिका हिमाल सुनारी उत्कृष्ट खेलाडी घोषित भएका छन् । शुक्ला गण्डकीका ईश्वर स्वाँर उत्कृष्ट स्पाइकर, बौदीकालिका विश्वास अधिकारी उत्कृष्ट ब्लकर, शुक्लाका अशोक मल्ल उत्कृष्ट सेटर, बौदीकालिका अशोक श्रेष्ठ उत्कृष्ट सर्भर, शुक्लाका मदन ठकुरी वेस्ट डिफेन्डर र उत्कृष्ट प्रशिक्षक बौदीकालिका जितबहादुर थापा घोषित भएका हुन् ।
यसैगरी, महिलातर्फको उपाधि एलिट भलिबल एकेडेमी नदीपुर पोखराले जितेको छ । विजेता एलिटले नगद ६० हजार साथमा ट्रफी र मेडल प्राप्त गर्यो । त्यसैगरी शान्ता भलिबल ट्रेनिङ सेन्टर द्वितीय भई नगद ३० हजार साथमा ट्रफी तथा मेडल प्राप्त गर्यो ।
यसैगरी, पालिकाले आयोजना गरेको छोलो हान्ने खेलतर्फ अशोक पुन प्रथम, सरोज मगर द्वितीय पारमान गुरुङ तृतीय र दीपक हर्मेल सान्त्वनास्थान प्राप्त गरेका छन् । छोलोमा प्रथमले नगद १० हजार, द्वितीयले नगद रु पाँच हजार, तृतीयले नगद दुई हजार र सान्त्वनाले नगद एक प्राप्त गरेका आयोजकले जनाएको छ ।
विजेता टोली तथा खेलाडीलाई गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङ, अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसी, माछापुच्छ्रे गाउँपालिका उपाध्यक्ष सीता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदीलगायतले पुरस्कार वितरण गरे ।
