एनभिए भलिबल लिग वैशाख १० गतेदेखि हुने

काठमाडौं । नेपाल भलिबल संघले आयोजना गर्ने प्रधानमन्त्री एनभिए महिला तथा पुरुष भलिबल लिग आगामी वैशाख १० देखि १९ गतेसम्म सञ्चालन हुने भएको छ । प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद्को त्रिपुरेश्वरस्थित कभर्डहलमा आयोजना गरिने संघले जनाएको छ ।

संघले वार्षिक कार्यक्रमअनुसार चैत महिनामा गर्ने भनिएको लिग विविध कारणले सारेर वैशाखमा सञ्चालन गर्न लागिएको हो । प्रतियोगितामा पुरुषतर्फ ८ र महिलातर्फ ६ गरी कुल १४ टोलीको सहभागिता रहनेछ ।

पुरुषतर्फ हेल्प नेपाल स्पोट्र्स क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी, एपीएफ क्लब, खिल्जी युवा क्लब (लुम्बिनी), पश्चिम रुकुम भलिबल टिम, कोशी प्रदेश र बुढानिलकण्ठ भलिबल क्लब सहभागी हुनेछन् । यस्तै महिलातर्फ न्यू डायमन्ड युथ स्पोट्र्स क्लब, नेपाल प्रहरी, एपीएफ क्लब, सुदूरपश्चिम प्रदेश, एभरेष्ट भलिबल क्लब र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा महिला तथा पुरुष दुवै विधामा समान नगद पुरस्कारको व्यवस्था गरिएको छ । विजेताले १० लाख रुपैयाँ, उपविजेताले ५ लाख रुपैयाँ र तेस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यसैगरी, दुवै विधाका सर्वोत्कृष्ट खेलाडीलाई जनही ६० हजार रुपैयाँ तथा उत्कृष्ट सर्भर, ब्लकर, लिबेरो, स्पाइकर, सेटर र प्रशिक्षकलाई जनही ३० हजार रुपैयाँ प्रदान गरिनेछ ।

प्रतियोगिताको प्रत्यक्ष प्रसारण हिमालयन टेलिभिजनले गर्नेछ । काठमाडौं उपत्यकाबाहिरबाट सहभागी टोलीका खेलाडीलाई दैनिक प्रतिव्यक्ति १२०० रुपैयाँ बस्न र खान खर्च उपलब्ध गराइनेछ भने उपत्यकाभित्रका टोलीका खेलाडीलाई दैनिक ३०० रुपैयाँ खाजा खर्च प्रदान गरिने संघले जनाएको छ ।
प्रतियोगिता सञ्चालनका लागि करिब १ करोड १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

साथै, संघको नीतिअनुसार प्रत्येक टोलीले बढीमा ३ जना विदेशी खेलाडी समावेश गर्न सक्नेछन्, जसका लागि नेपाल सरकारको नियमअनुसार आवश्यक प्रक्रिया पूरा गर्नुपर्नेछ । नेपाल भलिबल संघले राष्ट्रिय खेल भलिवलको विकास, विस्तार र व्यवसायीकरणमा सहयोग पुर्याउँदै आएको उल्लेख गर्दै प्रतियोगिताको सफलताका लागि सबैको साथ र सहयोग अपेक्षा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *