मध्यपूर्वमा जारी युद्धले विश्व अर्थतन्त्रमा गहिरो र बहुआयामिक असर

पेरिस । मध्यपूर्वमा जारी युद्धले विश्व अर्थतन्त्रमा गहिरो र बहुआयामिक असर पारेको छ । थाइल्याण्डले इरान सँग हर्मुज जलडमरूमध्य हुँदै आफ्ना तेल ट्याङ्करहरू सुरक्षित रूपमा सञ्चालन गर्न सहमति गरेको छ, जसले इन्धन आपूर्ति अवरुद्ध हुने चिन्ता केही हदसम्म कम गरेको छ । तर, यही जलमार्गमा इरानले केही जहाजहरू फिर्ता पठाएको बताएको छ, विशेष गरी अमेरिक–इजरायललाई सहयोग गर्ने देशसँग सम्बन्धित जहाजहरूलाई लक्षित गर्दै, जसले विश्व व्यापार र ऊर्जा आपूर्तिमा अनिश्चितता थप बढाएको छ ।

यसैबीच, संयुक्त अरब इमिरेट्सको अबु धाबीस्थित औद्योगिक क्षेत्रमा मिसाइल र ड्रोन आक्रमणपछि आगलागी हुँदा कम्तीमा पाँच जना घाइते भएका छन् । कुवेतको मुख्य व्यापारिक बन्दरगाह शुवैखमा पनि ड्रोन आक्रमणबाट भौतिक क्षति पुगेको छ, यद्यपि मानवीय क्षति भने नभएको बताइएको छ । यी घटनाहरूले खाडी क्षेत्रका प्रमुख ऊर्जा र व्यापारिक केन्द्रहरू असुरक्षित बन्दै गएको सङ्केत दिएका छन् ।

युद्धको प्रत्यक्ष प्रभाव विश्व ऊर्जा बजारमा देखिएको छ । तेलको मूल्य तीव्र रूपमा बढेको छ, किनकि लगानीकर्ताहरूले द्वन्द्व चाँडै अन्त्य हुने आशा गुमाउँदै गएका छन् । यसको असर सेयर बजारमा पनि परेको छ, जहाँ प्रमुख बजार सूचकहरू लगातार घटिरहेका छन् र लगानीकर्तामा अनिश्चितता बढेको छ । स्पेन को केन्द्रीय बैङ्कले अर्थतन्त्रमा ‘उल्लेखनीय मन्दी’ आउन सक्ने चेतावनी दिएको छ, साथै वित्तीय बजारमा अस्थिरता देखिन सक्ने सङ्केत गरेको छ । त्यहाँ इन्धन र ताप ऊर्जाको मूल्य बढ्दा मुद्रास्फीति पनि बढेको छ ।
इरानमा भने युद्धका कारण डिजिटल मुद्राको प्रयोग उल्लेखनीय रूपमा बढेको छ । विज्ञहरूका अनुसार यसलाई अन्तर्राष्ट्रिय प्रतिबन्धहरू छल्न र बढ्दो महँगीबाट जोगिन वैकल्पिक वित्तीय माध्यमका रूपमा प्रयोग गरिएको छ । उता, हवाई उडान क्षेत्रमा सुरुवाती दिनको तुलनामा उडान रद्द हुने दर घटे पनि कुल उडान सङ्ख्या अझै कम छ, जसले पर्यटन र व्यापारिक यात्रामा असर पारिरहेको छ ।

ऊर्जा सङ्कट अझ गहिरिँदै जाँदा जर्मनीले आवश्यक परे कोइला–आधारित विद्युत् उत्पादनलाई अपेक्षाभन्दा लामो समयसम्म सञ्चालनमा राख्न सक्ने सङ्केत दिएको छ । इजिप्टले ऊर्जा खर्च नियन्त्रण गर्न पसल, रेष्टुरेन्ट र किनमेल केन्द्रहरूलाई राति ९ बजेपछि बन्द गर्न निर्देशन दिएको छ । इथियोपियामा पेट्रोल अभावका कारण मानिसहरू घण्टौँ लामो लाइनमा बस्न बाध्य भएका छन्, कतिपयले त गाडीमै रात बिताएका छन् ।

यसैगरी, केन्यामा हजारौँ टन चिया मुख्य बन्दरगाहमै अड्किएको छ, जसले निर्यात व्यापारमा ठूलो असर पारेको छ । समग्रमा, मध्यपूर्व युद्धले ऊर्जा आपूर्ति, अन्तर्राष्ट्रिय व्यापार, वित्तीय बजार, यातायात र दैनिक उपभोग्य वस्तुहरूको मूल्यमा व्यापक प्रभाव पार्दै विश्व अर्थतन्त्रमा अस्थिरता र अनिश्चितता बढाएको स्पष्ट देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *