बाह्र वर्षपछि दोदा नदीमा पुल निर्माण

दोधारा चाँदनी (कञ्चनपुर) । कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिका जोड्ने दोदा नदीको पुल सम्झौता भएको १२ वर्षपछि निर्माण सम्पन्न भएको छ ।

पुल निमार्णका लागि २०७२ पुस २६ गते लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभी कैलालीसँग ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार पुल निर्माणको काम २०७५ पुस २६ मा सम्पन्न गर्नुपर्ने भए पनि सम्झौता गरेको १२ वर्षपछि पुल निर्माण सम्पन्न भएको डिभिजन सडक कार्यालय महेन्द्रनगरले जनाएको छ ।

पुल निमार्णको सम्झौताअनुरूप त्यतिबेला काम सुरु भएर तीनवटा पिलरसम्म निर्माण भएका थिए । तर पुलको फाउन्डेसनमा समस्या देखिएपछि डिजाइन परिर्वतन भएर पुल निर्माण हुन १२ वर्ष लागेको हो । “पुलको फाउन्डेसनमै समस्या देखिएपछि डिजाइन परिवर्तन गरेर पुल निर्माण गर्न समय लाग्यो”, डिभिजन सडक कार्यालय महेन्द्रनगरका इन्जिनियर हरिसप्रसाद जोशीले भने, “पुल निर्माण सम्पन्न भएर आवतजावत सुरु भइसकेको छ ।” उनका अनुसार उक्त पुल निमार्णका लागि तीनपटकसम्म म्याद थप गरिएको थियो ।

दोदा नदीमा पुल नहुँदा वर्षौँदेखि यहाँका स्थानीयले आवतजावतमा समस्या झेल्दै आएका थिए । “पुल बनेपछि हामीलाई आवतजावतमा सहज भएको छ, वर्षात्मा ज्यान जोखिममा राखेर खोला तर्नुपर्ने बाध्यता थियो ।” यहाँका स्थानीय भूपेन्द्र चौधरीले भने, “पुल बनेपछि यहाँका स्थानीयलाई ठूलो राहत भएको छ ।”

नदीपारि बसाइ र वारि खेतबारीको काम गनुपर्ने भएकाले बाध्य भएर ज्यान नै जोखिममा राखेर खोला तर्नुपर्ने बाध्यता रहेको अर्का स्थानीय रमेश महर बताउँछन् । “नदीपारि लालझाडीमा बसाइ रहेका धेरैको वारि कृष्णपुर नगरपालिकामा खेती छ”, उनले भने, “पुल बनेपछि यहाँका स्थानीय हर्षित छन् ।” उनले उक्त नदीमा पुल नहुँदा यहाँका स्थानीयहरू रोपाइको सिजनमा सास्ती खेप्दै आएको बताउनुभयो । पुल निमार्णका लागि लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभी कैलालीसँग रु २४ करोड २२ लाख ५७ हजारमा ठेक्का सम्झौता भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *