काठमाडौँ । नेकपा (एमाले) का सचिव पद्यमा अर्यालले गुण र दोषका आधारमा सरकारलाई सहयोग गर्ने बताएकी छिन् ।
सङ्घीय संसदमा आज सपथग्रहण गरिसकेपछि कुरा गर्दै प्रतिपक्षको हैसियतले गुण र दोषका आधारमा सकारात्मक काममा सहयोगी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
“प्रतिपक्षको भूमिकामा भएको हुनाले गुण र दोषका आधारमा सकारात्मक काममा हाम्रो सहयोगी भूमिका हुन्छ, त्यो हाम्रो प्रतिबद्धता हुन्छ, सहकार्यको अपेक्षा हुन्छ”, एमाले सचिव अर्यालले भनिन्, “हाम्रो चाहना भनेको जनसेवा र राष्ट्रसेवा हो, यसका लागि धेरै लोकतान्त्रिक शक्तिहरुसँग मिलेर काम गर्नुपर्ने हुन्छ, मुलुकको विकास र समृद्धि जनताको आवाजलाई बुलन्द बनाउन आफ्ना भूमिकालाई प्रभावकारी बनाउँछौ ।”
उनले संसद् सदस्यको हैसियत सपथ ग्रहण गरिरहदा निजी उपलब्धि नभई जनताको विश्वास र अपेक्षासहितको जिम्मेवारी भएको बताइन् ।
“संसदमा हामी प्रतिपक्षको भूमिकामा हुनेछौ, पारदर्शिता र सुशासन कायम गराउने विषयमा खबरदारी गर्ने काम गर्छाै”, उनले थपिन्, “अब बन्ने सरकारका निम्ति प्रतिपक्ष भएको हैसियतले विरोध नै गर्नुपर्छ भन्ने होइन, राम्रो काममा साथ र सहयोग रहन्छ ।”
