काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गौरीबहादुर कार्की नेतृत्वको आयोगले तयार पारेको प्रतिवेदन पूर्वाग्रहपूर्ण र ‘भद्दा नाटक’ भएको टिप्पणी गरेका छन्।
बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले फौजदारी संहिता २०७४ को दफा १८१ र १८२ लाई आधार बनाएर ल्याइएको सिफारिस कानुनी रूपमा मेल नखाने र मानसिक रूपमा दबाब सिर्जना गर्ने प्रयास भएको आरोप लगाएका हुन् ।
उनले भने, ‘पूर्वाग्रहपूर्ण प्रतिवेदन ल्याउनको लागि कतै ठाउँ नपाएपछि फैजदारी संहिता २०७४ को दफा १८१र १८२ भन्ने कतै मेल नखाने दफा मानसिक रुपमा तनाव दिने प्रयत्नसहित आयोगले गरेको कू–कर्म हो । यसमा हामी दुःख व्यक्त गर्छौं । प्रधानमन्त्री भएबापत अपराधी हुनुपर्ने ? अत्यन्तै स्तरहीन क्रियाकलाप भइरहेको छ, यो एउटा भद्दा नाटक हो ।’
उनले कतै ठाउँ नपाएपछि नमिल्ने दफा प्रयोग गरेर प्रतिवेदन ल्याइएको भन्दै यो आयोगको कू–कर्म भएको आरोप लगाए । अध्यक्ष ओलीले प्रधानमन्त्री पदमै बसेका व्यक्तिलाई अपराधीकरण गर्ने प्रयास भइरहेको भन्दै यस्तो गतिविधि अत्यन्त स्तरहीन रहेको बताए ।
ओलीले बदनाम गर्ने, चरित्र हत्या गर्ने र घृणाको राजनीति झल्काउनेगरीे प्रतिवेदन आएको आरोप लगाए ।
उनले भने,‘छानविन गर्ने र मुद्दा चलाउने सिफरिस गरेको छ । दफा १८१ र १८२ घट्ना स्थलमा व्यक्ति उपस्थित भएको हुनुपर्छ र उसबाट घटना प्रत्यक्ष रुपमा घटाएको हुनुपर्छ । अनि मात्र लापरबाही गरेर ज्यान गयो भन्ने हुन्छ । प्रधानमन्त्रीले न गोली चलाउँछ न आदेश दिन्छ । यो कानुनी हिसाबले सिफारिस गर्नै नमिल्ने कुरा हो । न्यायाधीश भइसकेको मान्छेले यति कुरा नबुझ्ने भन्ने छैन । यो बदनाम गर्ने ,चरित्र हत्या गर्ने र घृणाको राजनीति प्रकट भएको मात्र हो त्यसैले यो निन्दनीय,खेदजनक र अस्वीकार्य छ ।’
