रोयटर्स । युद्ध अन्त्य गर्न अमेरिकाले पठाएको प्रस्तावबारे इरानले समीक्षा गरिरहेको जनाएको छ । तर, बढ्दो मध्यपूर्व द्वन्द्वलाई कम गर्न अमेरिकासँग प्रत्यक्ष वार्तामा बस्ने कुनै योजना नरहेको इरानी विदेशमन्त्री अब्बास अराघचीले स्पष्ट पारेका छन् ।
राज्य टेलिभिजनसँग कुरा गर्दै अराघचीले मध्यस्थमार्फत सन्देश आदान–प्रदान भइरहे पनि त्यसलाई वार्ता भन्न नमिल्ने बताए। ‘प्रस्तावहरू उच्च तहमा पुगेका छन्, आवश्यक परे आधिकारिक धारणा सार्वजनिक हुनेछ,’ उनले भने।
स्रोतहरूका अनुसार इरानले कुनै पनि युद्धविराम सम्झौतामा लेबनानलाई समावेश गर्नुपर्ने अडान राखेको छ।
यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरान वार्तामा रहेको दाबी गरेका छन्। उनले इरानी नेतृत्व सम्झौता गर्न इच्छुक भए पनि आन्तरिक र बाह्य दबाबका कारण खुल्न नसकेको टिप्पणी गरे।
पाकिस्तानमार्फत पठाइएको अमेरिकी १५ बुँदे प्रस्तावमा इरानको उच्च समृद्ध युरेनियम भण्डार हटाउने, परमाणु कार्यक्रम सीमित गर्ने, क्षेप्यास्त्र क्षमता घटाउने र क्षेत्रीय सहयोगीलाई दिइने सहयोग रोक्ने प्रावधान समावेश रहेको बताइएको छ।
यद्यपि, ह्वाइट हाउसले प्रस्तावको विस्तृत विवरण सार्वजनिक गरेको छैन। ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लेभिटले इरानले आफूलाई सैन्य रूपमा कमजोर भएको स्वीकार नगरे थप कडा आक्रमण गरिने चेतावनी दिएकी छन्।
इजरायलले भने इरानले प्रस्ताव स्वीकार गर्नेमा शंका व्यक्त गरेको छ। साथै, भविष्यमा आवश्यक परे पूर्वआक्रमण गर्ने अधिकार सुरक्षित राख्न चाहेको बताइएको छ।
अमेरिकी सेन्ट्रल कमाण्डका प्रमुख एडमिरल ब्राड कूपरका अनुसार अमेरिकाले इरानभित्र १० हजारभन्दा बढी लक्ष्यमा प्रहार गरिसकेको छ। उनका अनुसार इरानका ९० प्रतिशतभन्दा बढी नौसैनिक क्षमता र ड्रोन–क्षेप्यास्त्र प्रहार क्षमतामा ठूलो गिरावट आएको छ।
युद्ध भने अझै रोकिएको छैन। इरानमाथि हवाई आक्रमण जारी रहँदा इरानले पनि इजरायल र अमेरिकी सहयोगीमाथि ड्रोन तथा क्षेप्यास्त्र प्रहार गरिरहेको छ।
तेहरानमा आवासीय क्षेत्रमा आक्रमण भएको र उद्धार कार्य जारी रहेको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन्। कुवेत र साउदी अरबले भने नयाँ ड्रोन आक्रमण विफल पारेको बताएका छन्।
युद्ध अन्त्य हुने आशामा अन्तर्राष्ट्रिय बजारमा केही सकारात्मक संकेत देखिएका छन्। तेलको मूल्य घट्दा सेयर बजारमा सुधार देखिएको छ।
यसैबीच, अमेरिकाले खाडी क्षेत्रमा थप सैनिक पठाउने तयारी गरिरहेको छ। इरानले भने आफ्नो भूभागमा आक्रमण भए रातो समुद्र क्षेत्रमा नयाँ मोर्चा खोल्न सक्ने चेतावनी दिएको छ।
अमेरिकाले सुरु गरेको ‘अपरेशन एपिक फ्युरी’ पछि इरानले अमेरिकी सैन्य आधार रहेका देशहरूलाई निशाना बनाउँदै आएको छ र विश्वको प्रमुख ऊर्जा मार्ग मानिने होर्मुज जलडमरूमध्य प्रभावकारी रूपमा अवरुद्ध भएको बताइएको छ।
