तेहरान । इजरायली आक्रमणमा इरानी अनुभवी सुरक्षा प्रमुख अली लारिजानी मारिएपछि इरानले उनको उत्तराधिकारी चयन गरेको छ।
रिभोलुसनरी गाड्र्सका पूर्व कमान्डर मोहम्मद बाघेर जोल्घादरलाई इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदको प्रमुख अर्थात् लारीजानीको उत्तराधिकारी नियुक्त गरिएको हो ।
बाघेर जोल्घादर इस्लामिक धर्म र विचारप्रति प्रतिवद्ध सेनाका प्रखर पूर्व डेपुटी कमान्डर–इन–चिफ हुन् । उनले गृह र न्याय मन्त्रालयमा पनि वरिष्ठ पद सम्हालिसकेका छन् ।
लारीजानी गत हप्ता इजरायली हमलामा मारिएका थिए । उनी गैर–धार्मिक क्षेत्रबाट इरानी राजनीतिमा पुगेका वर्तमान् नेतृत्वको उच्च पदस्थ व्यक्तित्वहरूमध्ये एक मानिन्थे । उनलाई संयुक्त राज्य अमेरिकासँगको कुनै पनि वार्ताको निर्णयमा केन्द्रीय व्यक्तिका रूपमा लिइन्थ्यो ।
जोल्घादरको सेवा रिभोलुसनरी गाड्र्समा अन्तर्निहित छ, जसको घोषित उद्देश्य इस्लामिक क्रान्तिलाई आन्तरिक र बाह्य खतराबाट जोगाउनु हो।
सन् १९८० को दशकमा सद्दाम हुसेनको इराकविरुद्धको युद्धमा सेवा गरेपछि, जोल्घादर आठ वर्षसम्म गाड्र्स ज्वाइन्ट स्टाफको प्रमुख थिए र त्यसपछि अर्को आठ वर्षसम्म गाड्र्सको डेपुटी कमान्डर–इन–चिफको रूपमा काम गरेका थिए ।
सन् २००५ मा उनी तत्कालीन राष्ट्रपति महमुद अहमदिनेजादको सरकारमा सुरक्षा र प्रहरीका लागि उप आन्तरिक मन्त्री नियुक्त भएका थिए । त्यस समयमा इरानी राजनीतिमा गाड्र्सको प्रभाव बढाउने व्यक्तिका रूपमा उनलाई हेरिन्छ ।
सन् २०२३ देखि उनी ‘एक्सपेडियन्सी काउन्सिल’का सचिव रहेका थिए । यो इरानमा एक शक्तिशाली निकाय हो जसले इरानका विभिन्न शक्ति संरचनाहरू र सर्वोच्च नेताबीच सल्लाहकार र मध्यस्थताको भूमिका खेल्छ।
तर, पूर्व सर्वोच्च नेता अली खामेनीको हत्या र उनका उत्तराधिकारी घोषित छोरा मोजतबा इरानी राजनीतिमा खुलारूपमा नदेखिएको अवस्थामा तेहरानको वर्तमान नेतृत्व संरचना अझै अस्पष्ट छ ।
