काठमाडौँ । गत भदौ २३ र २४ को जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक भएको छ ।
बुधबार आयोगको प्रतिवेदन सार्वजनिक भएको हो । प्रतिवेदनमा रास्वपा सभापति रवि लामिछानेको जेलब्रेकदेखि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवालगायत घटनासँग सम्बन्धित विभिन्न व्यक्तिसँगको बयान उल्लेख गरिएको छ ।
त्यस्तै आयोगले राजनीतिक नेतृत्वदेखि प्रहरीसम्मलाई फौजारी कसुरमा मुद्दा चलाउन सिफारिस गरेको छ । आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङलाई मुलुकी अपराध संहिता–२०७४ को दफा १८१ को उपदफा १ र दफा १८२ अनुसार कसुर हेरेर अनुसन्धान, तहकिकात र अभियोजन गर्न सरकार समक्ष सिफारिस गरेको छ । प्रतिवेदनमा प्रधानमन्त्री लगायत पदाधिकारीहरूको लापरबाहीपूर्ण र हेलचेक्र्याइँपूर्ण क्रियाकलाप र व्यवहार गरेका कारण नै अत्यधिक मानवीय क्षति हुन गएको आयोगको निष्कर्ष निकालेको छ ।
आयोगले प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षाको लागि नेपाली सेनाको तर्फबाट खटिएको सुरक्षा टोलीको प्रमुख, प्रमुख सेनानी दिवाकर खड्का, सिंहदरबार सचिवालयमा सुरक्षाको लागि खटिएका सुरक्षा टोलीको प्रमुख रहेका प्रमुख सेनानी गणेश खड्कालाई कारबाही गर्न गरेको छ । त्यस्तै प्रमुख सेनानी सन्तोष ढुंगेललाई पनि कारबाही गर्न आयोगले सिफारिस गरेको छ।
