हामीलाई सडकमा बसेर सरकार चलाउने म्यान्डेट छः अध्यक्ष घिसिङ

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अब सडकबाटै सरकार सञ्चालन गर्ने बताएका छन् । बुधबार पार्टीको बागमती प्रदेशस्तरीय अगुवा भेला तथा प्रशिक्षण कार्यक्रममा अध्यक्ष घिसिङले राजनीतिक अभियानलाई थप सशक्त बनाउने घोषणा गरेका हुन् ।

उनले देशको स्थायित्व र समृद्धिका लागि जनताले दिएको करिब दुई तिहाइ बहुमतको अभिमत सबैले स्वीकार गर्नुपर्ने बताए । उनले भने,‘चुनावबाट अत्यधिक मतले करिब दुई तिहाइको बहुमत एउटा पार्टीलाई दिएको छ । उज्यालो नेपाल पार्टीलाई सडकमा बसेर सरकार चलाउनु भनेर म्यानडेट दिएको छ । सडकको सरकार उज्यालो नेपाल पार्टी हुने छ, हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं।’

उनले पार्टी गठनको तीन महिनाभित्रै चुनावमा सहभागी हुनुपर्ने अवस्था आएको बताए । उनले अर्को दलसँग सहमति गर्दा केही अलमल भए पनि देशभर उम्मेदवारी दिन सफल भएको बताए। चुनाव हार्दा पनि जितेको पार्टी उज्यालो पार्टी रहेको उनको दाबी छ ।

उनले भने, ‘पार्टी गठन गरेको तीन महिनाभित्र चुनावमा भाग लिनुपर्ने अवस्था आयो । त्यो समयभित्र पनि बीचमा अर्को पार्टीसँग सहमति गरेपछि त्यहाँपनि अलमल भयौं । छोटो समयमा पनि देशैभरी उम्मेदवारी दिन भने सफल भयौं । जित्न नसक्दा पनि हारेर पनि जितेको उज्यालो पार्टी हो । देश पनि जितेको छ । उज्यालो पार्टी पनि जितेको छ’ उनले भने ।

कार्यक्रममा उनले सातै प्रदेशमा भेला सम्पन्न भएपछि जिल्ला, पालिका र वडा तहसम्म संगठन विस्तार गर्ने योजना रहेको पनि जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *