कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत हालसम्म ४१४ मोटरसाइकल र ३६ जनालाई नियन्त्रणमा लिएर कारबाही गरेको छ ।
मोटरसाइकलको स्वरूप परिवर्तन (मोडिफाई) गरी चर्को आवाज निकाल्ने, ध्वनी प्रदूषण फैलाउने तथा शान्ति सुव्यवस्थामा खलल पार्ने कार्य रोक्नका लागि प्रहरीले गत असोज २७ गतेदेखि ‘अपरेसन ३६५’ सञ्चालन गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी समेत रहेका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले अभियानका क्रममा पछिल्लो पटक चैत ९ गतेदेखि खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिकाका विभिन्न स्थानबाट थप १० वटा मोटरसाइकल नियन्त्रणमा लिएको बताएका छन् । नियन्त्रणमा लिइएका सवारी साधनमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको उनले बताएका छन् ।
उनका अनुसार स्वरूप परिवर्तन गरेका मोटरसाइकलबाट सहरमा आतङ्क सिर्जना भएको गुनासोपछि यो अभियान सञ्चालन गरिएको हो ।
“देशको पर्यटकीय राजधानीसमेत रहेको पोखरामा मोडिफाइ गरिएका मोटरसाइकलबाट आतङ्क सिर्जना गर्ने कार्य भएपछि यो अभियान सुरु गरेका हौँ । अहिले अभियानसँगै प्रहरीले सहर तथा ग्रामीण क्षेत्र दुबैमा यस्ता गतिविधि रोक्न विशेष निगरानी बढाउँदै लगेको छ । वैध रूपमा परिवर्तन गरिएका मोटरसाइकलको जानकारी नजिकैको प्रहरी कार्यालयमा जानकारी दिन नागरिकलाई अनुरोध समेत गरेका छौँ,” प्रहरी नायब उपरीक्षक बस्नेतले भने ।
सवारीसाधन धनीले आफ्नो साधन ‘मोडिफाई’ नगरी पूर्ववत् असली स्वरूपमा चलाउन र मोडिफाई गर्ने कार्यमा ग्यारेज, वर्कसप र रिकन्डिसन हाउस सञ्चालकले समेत उक्त कार्य नगर्न/नगराउन पनि प्रहरीले अनुरोध गरेको छ । सवारी मोडिफाई गरी चलाइएको पाइएमा सवारीसाधन धनी र उक्त कार्यमा संलग्न व्यक्तिलाई कानुनबमोजिम कारबाही हुने प्रनाउ बस्नेतले बताएका छन् ।
