काठमाडौँ । संयुक्त राज्य अमेरिकास्थित एक संस्थाद्वारा गरिएको ‘एचई उच्च शिक्षा र्याङ्किङ’ मा विश्वका पाँच सय सात विश्वविद्यालयमध्ये काठमाडौँ विश्वविद्यालय एक सय २२ औँ स्थानमा परेको छ ।
विश्वभरका ९५ देशका पाँच सय सात विश्वविद्यालय सहभागी ‘र्याङ्किङमा विश्वविद्यालयको उच्च शिक्षामा प्रभाव मापन गर्न २५ मापदण्डअन्तर्गत एक सय ३६ सूचक प्रयोग गरिएका थिए । यो ‘र्याङ्किङ’ मुख्यतः दक्षिण एसिया, दक्षिण अमेरिका र पूर्वी युरोपका उदीयमान विश्वविद्यालयको कार्यसञ्चालन क्षमता मूल्याङ्कनमा केन्द्रित रहेको जनाइएको छ ।
उक्त संस्थाले विश्वविद्यालयहरूको वास्तविक सञ्चालन प्रक्रिया र कार्यसम्पादनका आधारमा मूल्याङ्कन गर्दै तथ्यमा आधारित समग्र चित्र प्रस्तुत गर्ने गरेको जनाइएको छ । उक्त मूल्याङ्कन प्रतिवेदनमा उल्लेख गरिएअनुसार सुविधा तथा स्रोत व्यवस्थापन, शैक्षिक पारदर्शिता र भविष्य उन्मुख योजनामा विश्वविद्यालयले विशेष सम्भावना देखाएको छ । ‘एचई उच्च शिक्षा ‘र्याङ्किङ’को विशेषता विश्वविद्यालयको सञ्चालनसँग सम्बन्धित नीति, प्रक्रिया, सेवा, उत्पादन र परिणामहरूको मापनमा जोड दिनु रहेको छ ।
मूल्याङ्कनका लागि समावेश गरिएका सूचकहरूमा समावेशिता, दिगो विकास, पारदर्शिता, उत्तरदायित्व, अनुसन्धान प्रणाली, क्याम्पस सुरक्षा, अन्तरराष्ट्रियकरण, शैक्षिक निष्ठा तथा डिजिटल पहुँचलगायत छन् ।
शिक्षण, अनुसन्धान, सुशासन, समानता र सामाजिक प्रभावमा अर्थपूर्ण सुधारका लागि मार्गनिर्देशन गर्ने उद्देश्यले ‘र्याङ्किङ’ तयार गरिएको संस्थाले उल्लेख गरेको छ ।
काठमाडौँ विश्वविद्यालयलाई पठाइएको इमेलमा ‘एचई उच्च शिक्षा र्याङ्किङ’ की सचिव नूरा अब्दुलजलीलले उक्त उपलब्धि विश्वविद्यालयको नेतृत्व, प्राध्यापक, कर्मचारी, विद्यार्थी तथा पूर्वविद्यार्थीको सामूहिक प्रयास र शिक्षाप्रतिको प्रतिबद्धताको परिणाम भएको जनाइएको छ । यो उपलब्धिले शैक्षिक उत्कृष्टता र नवप्रवर्तनप्रति काठमाडौँ विश्वविद्यालयको अटल प्रतिबद्धता झल्काउने इमेलमा उल्लेख गरिएको छ ।
काठमाडौँ विश्वविद्यालय शैक्षिक उत्कृष्टता निर्देशनालय प्रमुख प्रा डा हेमराज काफ्लेले प्रतिवेदनले विश्वविद्यालयको संस्थागत सञ्चालनबारे महत्त्वपूर्ण अन्तरदृष्टि प्रदान गरेको बताए । उनले यसले आफ्नो विश्वविद्यालयको सञ्चालन प्रणालीबारे केही महत्त्वपूर्ण जानकारी दिएको र अन्य अन्तरराष्ट्रिय ‘र्याङ्किङ’ मा सहभागी हुन आवश्यक तथ्याङ्क सुदृढ गर्न मद्दत पुर्याउने धारणा राखे ।
