चितवनका दुग्ध उत्पादक किसानले अझै पाएनन् ५५ करोड भूक्तानी

चितवन । जिल्लाका दुग्ध उत्पादक किसानले दूध बिक्री गरे बापत  ५५ करोड भूक्तानी पाउन सकेका छैनन्। उनीहरूले बिगत ६ महिनादेखिको भूक्तानी पाउन सकेका छैनन्।

जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेका अनुसार गत कात्तिकदेखिको दूधको भूक्तानी नपाउँदा किसान समस्यामा छन्।

बजारको समस्या नभए पनि दुग्ध विकास संस्थानसहित ठूला दूध उद्योगले रकम भूक्तानी नगर्दा दुग्ध उत्पादक किसान समस्यामा परेका हुन्। उनले भने,‘संस्थानको ६ महिनादेखि र अन्य उद्योगको तीन महिनादेखिको भूत्तानी बाँकी छ।’

साना उद्योगले नियमित भूक्तानी गर्ने गरेको भए पनि ठूला उद्योगको भूक्तानी बाँकी रहेको अध्यक्ष बगालेले जानकारी दिए।

जिल्लामा अहिले दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ। जसमध्ये ५० प्रतिशतभन्दा बढी दूध बिक्री गर्न जिल्ला बाहिर लैजाने गरिन्छ।

यहाँका ११५ दुग्ध उत्पादक सहकारी संघले दैनिक दूध संकलन गरेर ठूला उद्योगलाई बिक्री वितरण गर्ने गरेका छन्।

ती सहकारीले समयमा भूक्तानी नपाउँदा किसानलाई भूक्तानी गर्न कठिन भएको उनले जानकारी दिए। जिल्लामा ४० हजार किसानले दूग्ध उत्पादन गर्दै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *