बीबीसी । अमेरिका र इरानका अधिकारीहरूले जारी युद्ध अन्त्य गर्ने विषयमा दुई पक्षबीच वार्ता भएको विषयमा परस्पर बाझिने टिप्पणी गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देशबीच ‘शत्रुता पूर्णतः समाधान गर्न’ मध्यपूर्वमा कुराकानी भइरहेको बताएका छन् । तर इरानी संसद्का सभामुखले उक्त दाबीको खण्डन गर्दै त्यसलाई ‘भ्रामक समाचार’को सङ्ज्ञा दिएका छन् ।
तेहरानसँग ‘फलदायक छलफल’ भएको भन्दै ट्रम्पले सामाजिक सञ्जालमा गरिएको पोस्टमा इरानका ऊर्जा पूर्वाधारमाथि हुन सक्ने आक्रमण पाँच दिनका निम्ति स्थगित गरिएको जनाएका छन् । ट्रम्पले यो साताभरि छलफलले निरन्तरता पाउने उल्लेख गरेका छन् ।
उनले भने, ‘यी गहन, विस्तृत र रचनात्मक छलफलका भाव र शैलीको आधारमा, जसले पूरै साता निरन्तरता पाउने छ, मैले युद्ध मामिला हेर्ने निकायलाई इरानका विद्युत् केन्द्रहरू र ऊर्जा संरचनाहरूमा पाँच दिनका निम्ति सबै किसिमका सैन्य कारबाही स्थगन गर्न भनेको छु जुन जारी बैठक र छलफलमा निर्भर हुने छ ।’
यद्यपि कतिपय इरानी अधिकारीले अमेरिकासँग कुराकानी भएको भन्ने ट्रम्पको भनाइलाई अस्वीकार गरेका छन् । इरानी संसद्का सभामुखले त्यस्तो कुनै छलफल नभएको भन्दै त्यस्तो दाबी “तेल बजारलाई प्रभावित पार्ने“ दाउ भएको टिप्पणी गरेका छन् ।
‘अमेरिकासँग कुनै वार्ता गरिएको छैन। वित्तीय र तेल बजारलाई प्रभावित पार्न अनि अमेरिका र इजरेललाई फसेको दलदलबाट उम्काउन भ्रामक समाचार प्रयोग गरिँदै छ,’ मुहम्मद–बागेर गलिबाफले एक्समा लेखेका छन् ।
ट्रम्पले इरानमाथि हमला स्थगित गर्दै चाँडै शान्ति सम्झौता हुन सक्ने बताएपछि सोमबार विश्वबजारमा कच्चा तेलको मूल्य घटेको थियो । तर पछि ब्रेन्ट क्रूडको मूल्य बढेर प्रतिब्यारल १०० डलर नाघेको छ।
