डोटीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

डोटी । डोटीको आदर्श गाउँपालिका–६ रौसेल्ला खोला नजिक मौवा–गिरीचौकको कच्ची सडकमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बोलेरो चालक आदर्श –३ काँडीस्याउलेका २२ वर्षीय सुवोध रोकाया र सोही स्थानका १९ वर्षीय कैलाश विक रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नवराज ढुङ्गेलले जानकारी दिए । उनका अनुसार खतेडाबाट काँडीस्याउलेतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश०१–००१च ३९२३ नम्बरको सो बोलेरो घुम्तीमा अनियन्त्रित भई गएराति १२ बजेको समयमा दुर्घटनामा परेको थियो । दुर्घटनापछि दुवै जना सडकबाट करिब ९०० मिटर तल साइलीखोलामा मृतावस्थामा फेलापरेका थिए ।

यसैबीच, झापाको कचनकवल गाउँपालिका–४ मा सवारी साधान(सिटी)को ठक्करबाट मोटरसाइकल चालक ५० वर्षीय शुकदेव गणेश मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार गएराति बनियानीबाट लोधाबारी गइरहेको बीआर–११सी–३०७१ नम्बरका मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र–१–०१–००२बी ६४११ नम्बरको सिटी एकापसमा ठोक्किएको थियो ।

दुर्घटनामा चालक गणेश गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि भद्रपुरस्थित ओम साई पाथीभरा अस्पताल उपचारका लागि पठाइएकामा अस्पताल पुर्याएलगत्तै उनलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । प्रहरी सिटी चालक स्थानीय वर्ष १९ का सैजन मियाँ, सिटी र मोटरसाइकल नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *