इथियोपियाको टिग्रेमा भोकमरीका कारण तीन बर्षमा एक हजार ३०० को मृत्यु

अदिस अबाबा । इथियोपियाको हिंसाग्रस्त टिग्रे क्षेत्रमा विगत तीन वर्षमा विस्थापन शिविरमा भोकमरीका कारण एक हजार ३०० भन्दा बढीको मृत्यु भएको एक स्थानीय अधिकारीले सोमबार एएफपीलाई जानकारी दिएका छन् ।

अफ्रिकी सङ्घको अनुमानित तथ्याङ्क अनुसार सन् २०२० देखि सन् २०२२ मा सङ्घीय सरकार र उत्तरी टिग्रे क्षेत्रका सेनाबीच भएको गृहयुद्धमा कम्तीमा छ लाख मानिसको मृत्यु भएको थियो। युद्धका कारण करिब एक लाख मानिस शिविरमा विस्थापित भएका छन् ।

टिग्रेको सामाजिक मामिला कार्यालयका निर्देशक गेब्रेसेलासी तारेकेले एएफपीसँग भन्नुभयो, “विगत तीन वर्षमा टिग्रे वरपरका शिविरहरूमा आन्तरिक रूपमा विस्थापित धेरै व्यक्तिहरूको भोकमरी र औषधिको अभावका कारण मृत्यु भएको छ। यो सङ्ख्या एक हजार ३०९ रहेको उनले बताए ।

‘स्थिति खराब हुँदै गइरहेको छ, हामीले सङ्घीय सरकारबाट पर्याप्त सहयोग पाइरहेका छैनौँ र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले उनीहरूको सहयोग कम गरिरहेका छन्,’ गेब्रेसेलासीले भने ।

राजनीतिक तनाव बढेपछि अदिस अबाबाले केही महिनाअघि टिग्रेलाई दिँदै आएको आर्थिक सहयोग बन्द गरेको थियो । ‘धेरै मानिसहरू जोखिममा छन्’, गेब्रेसेलासीले भने, ‘सबैभन्दा बढी प्रभावित शिविरहरूमध्ये एकमा एक लाख ५० मानिसहरू छन्।’

गत नोभेम्बर र जनवरीमा इथियोपियाली सेना र टिग्रेकोसेनाबीच पुनः भिडन्त भएको थियो ।सङ्घीय अधिकारीहरूले टिग्रे पिपुल्स लिबरेसन फ्रन्ट ९टीपीएलएफ० ले इरिट्रियासँग सम्बन्ध निर्माण गरिरहेको आरोप लगाएका छन् ।

इरिट्रियाले भूपरिवेष्ठित इथियोपियाले आफ्नो बन्दरगाह शहर अस्साब कब्जा गर्ने योजना बनाएको आरोप लगाएको छ। सीमामा हप्तौँदेखि सैनिकहरू जम्मा भएका छन्। गत महिना संयुक्त राष्ट्रसंघका मानव अधिकार उच्चायुक्त भोल्कर टर्कले दुई राष्ट्रहरूलाई ‘थप धेरै ढिलो नगरिकन’ तत्काल तनाव कम गर्न आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *