रविलाई सहकारी ठगीको जाहेरी दिने व्यक्ति पनि सहकारी ठगीमा सलग्न

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र सूर्यदर्शन सहकारीका सञ्चालक जिबी राईलगायत विरूद्ध जाहेरी दिने व्यक्ति नै सहकारी ठगीमा संलग्न भएको खुलेको छ ।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका ’पीडित’ कृष्णप्रसाद जैसी पोखराकै धनुष बचत तथा ऋण सहकारी ठगीमा संलग्न भएको खुलेको हो ।

उनकै जाहेरीमा रवि र सञ्चालक जिबी राईलगायत विरूद्ध एक अर्ब ५१ करोड रूपैयाँ हिनामिनाको मुद्दा अदालतमा विचाराधीन छ । उनलाई प्रहरीले ठगीको अभियोगमा सोमबार पक्राउ गरेको छ ।

धनुष सहकारीको ऋण उपसमितिमा बसेर जैसीले कृत्रिम खातामार्फत ८२ लाख रूपैयाँ हिनामिनामा संलग्न रहेको छानबिन प्रतिवेदनमा उल्लेख छ ।

सहकारी ठगीमा संलग्न देखिएका अन्य चार जनाको नाममा पक्राउ पुर्जी जारी भएको छ । सहकारी रजिस्ट्रारको कार्यालयले पेस गरेको छानबिन प्रतिवेदनमा धनुष सहकारीबाट १९ करोड १८ लाख रूपैयाँ हिनामिना भएको निष्कर्ष निकालिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *