काठमाडौँ । नेपाली चलचित्रलाई प्रविधिमैत्री बनाउने उद्देश्यले काठमाडौँमा ‘सिनेम्याटिक एआईः फ्रम स्क्रिप्ट टु स्क्रिन विथ आर्टिफिसियल इन्टेलिजेन्स’ विषयक दुईदिने कार्यशाला सुरु भएको छ । चलचित्र विकास बोर्ड र नेपाल एआई फिल्म एलायन्स (नाइफा)को सहकार्यमा आयोजित उक्त कार्यशालामा दुई सय बढी चलचित्रकर्मीको सहभागिता रहेको छ ।
चावहिलस्थित चलचित्र विकास बोर्डको प्रेक्षालयमा सञ्चालन भइरहेको कार्यशालाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले एआईले चलचित्र क्षेत्रमा नयाँ सम्भावना सृजना गरेको बताए । उनले एआईको प्रयोगसँगै मानवीय सृजनशीलताको भूमिका अझ महत्त्वपूर्ण हुने बताए ।
त्यसैगरी, नाइफाका अध्यक्ष करूण थापाले एआईले फिल्म निर्माणलाई सर्वसुलभ बनाएको बताए । उनले पहिले फिल्म बनाउन ठूलो बजेट, उपकरण र जनशक्ति आवश्यक पर्ने भए पनि अहिले ‘आइडिया’ र इन्टरनेटको सहायताले कोठामै बसेर पनि चलचित्र निर्माण सम्भव भएको उल्लेख गरे ।
कार्यशालामा सहभागीहरूलाई आइडियाबाट स्क्रिप्ट, स्क्रिप्टबाट इमेज, इमेजबाट भिडियो र अन्ततः पूर्ण चलचित्र तयार पार्ने प्रक्रियाबारे अभ्यास गराइएको छ । साथै साउन्ड डिजाइन, सम्पादन, कलर करेक्सन तथा भिएफएक्समा एआईको प्रयोगबारे पनि जानकारी दिइएको छ । कार्यक्रममा नाइफाका तर्फबाट करुण थापा, शिव पुरी, मौसम पुरी र अजय शर्माले दुई दिनसम्म प्रशिक्षण दिनेछन् ।
