काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान)को आयोजनामा जारी पुरुष प्रधानमन्त्री कप क्रिकेटमा लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् । सोमबार दिउँसो भएको खेलमा लुम्बिनी प्रदेशले कोशी प्रदेशलाई १ सय ४८ रनले हराउँदै प्रतियोगितामा उत्कृष्ट शुरूवात गरेको हो ।
जितको लागि २ सय ५० रनको विजयी लक्ष्य पछ्याएको कोशीले ३१.४ ओभरमा अलआउट हुँदै १ सय १ रन बनाएको हो । कोशीको लागि अंकित सुवेदीले सर्वाधिक ३० रन बनाउँदा दिपेश कँडेलले १५ र कप्तान सुजन थपलियाले ११ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
लुम्बिनी प्रदेशको लागि सन्तोष यादवले चार, राजेन्द्र बमले तीन, निर्मल गुरुङले दुई र सन्देश थापाले एक विकेट लिए ।
यसअघि जनकपुरस्थित रामजानकी बहुउद्देश्यीय स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको लुम्बिनीले ४९.३ ओभरमा अलआउट हुँदै २ सय ४९ रन बनाएको थियो । लुम्बिनीको लागि कप्तान देव खनालले अर्धसतकीय इनिंस खेले । उनले १ सय बल खेल्दै ८ चौका र १ छक्काको मद्दतमा ९२ रन बनाए । यस्तै सन्तोष यादवले ४८, रञ्जित खड्काले ३५, राजेन्द्र बमले नटआउट १६ र आकाश त्रिपाठीले १२ रन बनाए ।
कोशीको लागि सुजन थपलियाले चार र दिपेश कँडेलले दुई तथा विपिन महतो र प्रेम कमतले एक/एक विकेट लिए ।
जितसँगै लुम्बिनी दुई खेलबाट ३ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । समान खेलबाट एक अंक जोडेको कोशी छैटौँ स्थानमा रहेको छ ।
आजै भएको अर्को खेलमा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई ४ विकेटले पराजित गरेको हो । जितको लागि १ सय २० रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिमले २९.२ ओभरमा ६ विकेटको क्षतिमा १ सय २२ रन बनाउँदै लक्ष्य भेट्टाएको हो । सुदूरपश्चिमको लागि किरण ठगुन्नाले २६, खडक बोहोराले २३, मिलन बोहोराले १८ र शेर मल्लले १० रन बनाए ।
कर्णालीको लागि अनुज चनरा र दिवन पुनले दुई/दुई तथा प्रकाश जैशी र दिपेन्द्र रावतले एक/एक विकेट लिए ।
यसअघि वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले ३२ ओभरमा अलआउट हुँदै १ सय १९ रन बनाएको थियो । कर्णालीको लागि विपिन रावलले ३३, सुनिल धमलाले २८ र अर्विंद घर्तिले १३ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
सुदूरपश्चिमको लागि हेमन्त धामीले ७ ओभरमा १ मेडन राख्दै १६ रन दिएर ६ विकेट लिँदा शेर मल्ल, नारायण कोशी, अशोक धामी र मिलन बोहोराले एक/एक विकेट लिए ।
जितसँगै सुदूरपश्चिमले दुई अंक जोडेको छ ।
