-सुरेश आचार्य ।
राज्यको कार्य संचालनमा आमूल परिवर्तन आवश्यक देखिन्छ, नत्र अहिलेको जेनजी परिवर्तनको कुनै अर्थ रहन्न । रास्वपाको विजय पनि पानीको फोकामा परिणत हुन्छ । अहिले राजनीतिक र संवैधानिक नियुक्ति पाएकाहरूको उमेर त ‘युवावय’ को बन्न सक्तैन, तर ‘सोंच’ र ‘कल्पनाशिलता’ त अवश्य नै समयानुकूल हुनैपर्छ ।
यसकारण मेरो सुझाव के छ भने निजामती सेवालाई नै उर्जावान, कलंकरहित, प्रविधीमैत्री र समयानुकूल बनाउने रवि–बालेन सरकारको उद्देश्य हो भने लोकसेवा आयोगलाई कम्तिमा २ महिनाका लागि संवैधानिक रूपमा निलम्वित गरी समग्रः निजामती सेवामा व्यापक फेरबदल गर्नुपर्छ ।
अमेरिकामा राष्ट्रपति परिवर्तन हुँदा करिब ६ हजार राजनीतिक नियुक्तिहरू एकै पटक प्रभावित हुने गर्छन् । तै पनि विश्वकै महाशक्ति राष्ट्रको राज्य संचालन ४-४ वर्षमा नयाँ शिराबाट सुरू भएर पनि अमेरिका जतिको प्रजातान्त्रिक र वैभवशाली राष्ट्र, अर्को कुनै देश हुन सकेका छैनन् । शायद, यही भएर अमेरिकालाई सपनाको देश भनिएको होला । रवि–बालेनलाई उनीहरूको सोंच अनुसार नेपाललाई पनि सपनाको देशमा रूपान्तरण गर्न दिऊँ, भन्ने मेरो मनसुवा हो ।
उनीहरूलेः
–सार्वभौमिकता र राष्ट्रियता लाई शिरमा राख्नु पर्यो ।
–धनी र गरिब बीचको खाडल पुर्ने काम गरून् ।
– सीमित व्यक्तिमा capital accumulation (पूँजी संकेन्द्रित) गर्ने वा हुने काम रोकुन् ।
– राष्ट्रिय सुरक्षाप्रति संवेदनशील बनुन् !
सायद, यी बाहेक जे–जे परिवर्तन गरे पनि केही गलत हुने छैन । उनीहरू जानेर वा नजानेर सॉच्चिकै घातक मार्गतिर हिँडेछन् भने त्यो point of time मा हामी सबैले प्रश्न उठाउँला, सचेत गराउँला र अन्ततः रोकौंला । तर उनीहरूलाई कामको थालनी नै गर्न नदिई शंका–उपशंका गर्नु उचित हुँदैन । यो बेलामा रास्वपालाई जनताले दिएको “म्यान्डेट“ लाई पनि कतैबाट चूनौति दिनु अनुपयुक्त हुन्छ ।
