एजेन्सी । स्पेनिस लिग ला लिगामा रियल म्याड्रिड विजयी भएको छ । आइतबार राति भएको खेलमा सहरी प्रतिद्वन्द्वी एट्लेटिको म्याड्रिडलाई ३-२ गोलले हराउँदै १० खेलाडीमा समेटिएको म्याड्रिडले लिगमा लगातार तेस्रो जित निकालेको हो । ला लिगामा एट्लेटिकोमाथि सन् २०२२ पछि म्याड्रिडको यो पहिलो जित हो ।
घरेलु मैदान इस्टाडियो सान्टियागो बेर्नाबेउमा भएको खेलमा म्याड्रिडलाई जित दिलाउन भिनिसियस जुनियरले दुई गोल गर्दा फेडेरिको भाल्भेर्डेले एक गोल गरे । एट्लेटिकोको लागि एडेमोला लुकम्यान र नाहेल मोलिनाले समान एक/एक गोल गरे । खेलको ३३ औँ मिनेटमा लुकम्यानले गोल गर्दै एट्लेटिकोलाई शुरूवाती अग्रता दिलाएका थिए ।
५२ औँ मिनेटमा भिनिसियसले पेनाल्टीमा गोल गर्दै म्याड्रिडलाई १-१ गोलको बराबरीमा ल्याए । तीन मिनेटपछि भाल्भेर्डेले गोल गर्दै म्याड्रिडलाई २-१ गोलको अग्रता दिलाए । ६६ औँ मिनेटमा मोलिनाले गोल गर्दै एट्लेटिकोलाई २-२ गोलको बराबरीमा ल्याएका थिए । ६ मिनेटपछि भिनिसियस जुनियरले व्यक्तिगत दोस्रो गोल गर्दै म्याड्रिडलाई खेलमा ३-२ गोलले अगाडि बढाए ।
७७ औँ मिनेटमा भाल्भेर्डे रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि म्याड्रिड १० खेलाडीमा समेटिएको थियो । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा म्याड्रिड ३-२ गोलले विजयी भएको हो ।
जितसँगै म्याड्रिड २९ खेलबाट ६९ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा रहेको छ । समान खेलबाट ५७ अंक जोडेको एट्लेटिको चौथो स्थानमा रहेको छ ।
गएरातिनै भएको अर्को खेलमा रायो भाल्लेकानोलाई १-० गोलले हराउँदै बार्सिलोनाले लिगमा आफ्नो विजयी यात्रालाई निरन्तरता दिएको थियो ।
