काठमाडौं । अखिल नेपाल फूटबल संघ(एन्फा) सधैं विवादको भुमरीमा पर्दै आएको छ । आजपनि एन्फा फेरी एकपटक मैदान बाहिरको विषयलाई लिएर विवादमा तानिएको छ ।
यहि चैत्र १२ गते दशरथ रंगशालामा हङकङ, चीनविरुद्ध हुने भनिएको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल स्थगित गरेको जनाकारी गराउँदै एन्फाले विज्ञप्ति झिकेको थियो ।
उक्त खेल आयोजनाको लागि राष्ट्रिय खेलकुद परिषद्(राखेप)सँग खेल मैदान उपलब्ध गराइदिन आग्रह गरेपनि खेल संचालनको स्वीकृति नदिएपछि खेल स्थगित गरिएको एन्फाले विज्ञप्तिमा जनाएको थियो ।
लगत्तै ध्यानाकर्षण विज्ञप्ति निकाल्दै राखेपले उक्त खेल आफ्नो कारण स्थगित नभएको जनाएको हो । खेलका लागि खेलकुद परिषदको संघसस्था समन्वय शाखा र रंगशाला, फ्लडलाईट, स्कोरबोर्ड र अन्य पूर्वाधार प्रयोग सम्बन्धमा परिषद्को सामान्य प्रशासन शाखाको पत्रमार्फत नै स्वीकृती र अनुमति दिइसकेको खेलकुद परिषद्का सूचना अधिकारि खुसराज दाहालले विज्ञप्तिमा बताएका छन् ।
‘नेपाली खेलकुदको विकास र विस्तारका लागि क्रियाशिल राष्ट्रिय खेलकुद परिषद्लाई भ्रमपूर्ण आरोप लगाई आफूले गर्नुपर्ने कार्य नगरी कमजोरी लुकाउने प्रयास बन्द गर्न राष्ट्रिय खेलकुद परिषद् जानकारी गराउँदछ। साथै एन्फाको भ्रमपूर्ण समाचारले पार्ने असर प्रति सचेत रहन सरोकारवाला सम्पूर्णलाई आग्रह गर्दछौ,’ विज्ञप्तिमा भनिएको छ।




