काठमाडौं । साउदी अरेबियाले ऊर्जा आपूर्ति अवरोध अप्रिलको अन्त्यसम्म कायम रहे कच्चा तेलको मूल्य प्रतिब्यारेल १८० डलर नाघ्न सक्ने प्रक्षेपण गरेको छ ।
द वालस्ट्रिट जर्नलले जनाएअनुसार इरानसँगको द्वन्द्व र क्षेत्रीय तनाव लम्बिँदा यस्तो अवस्था आउन सक्ने अनुमान गरेको हो । खाडी क्षेत्रको सबैभन्दा ठूलो तेल उत्पादक देशका अधिकारीहरूले उक्त प्रक्षेपणलाई आधारभूत परिदृश्यका रूपमा लिएका छन्।
यसले हाल देखिएको ऊर्जा संकट छोटो समयमै अन्त्य नहुने संकेत दिएको छ । क्षेत्रभर ऊर्जा पूर्वाधारमा भएका आक्रमणहरूले आपूर्ति झनै प्रभावित बनाएको छ । इरानले आफ्नो साउथ पार्स ग्यास क्षेत्रमा इजरायलको आक्रमणको प्रतिशोधस्वरूप कतारको रास लाफान औद्योगिक सहर तथा खाडी क्षेत्रका अन्य ऊर्जा संरचनामा प्रहार गरेको बताइएको छ ।
यस क्षेत्रमा देखिएको अवरोधका कारण विश्व बजारमा कच्चा तेलको आपूर्तिबारे चिन्ता बढेको छ । यसबीच, तेलको मूल्यमा तीव्र वृद्धि देखिएको छ। फेब्रुअरी अन्त्यदेखि कच्चा तेलको मूल्य करिब ५० प्रतिशतले बढेको छ।
