पुलिसलाई दोस्रोपटक जय ट्रफीको उपाधि

काठमाडौं । नेपाल पुलिस क्लबले जय ट्रफीको उपाधि जितेको छ । शुक्रबार सम्पन्न फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले हराउँदै पुलिसले लगातार दोस्रोपटक उपाधि चुमेको हो ।

जितको लागि २ सय २७ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले ५६.४ ओभरमा ६ विकेटको क्षतिमा २ सय ३० रन बनाउँदै लक्ष्य भेट्टाएको हो । पुलिसलाई जित दिलाउन रशिद खान र कुशल भुर्तेलले अर्धसतक बनाए । रशिदले १ सय २८ बल खेल्दै ८ चौका र तीन छक्काको मद्दतमा स्रवाधिक ८१ रन बनाउँदा कुशल भुर्तेलले ५१ रन बनाए । उनले ६४ बलमा ५ चौका प्रहार गरे । यस्तै दिलसाद अलिले ३१, दिनेश खरेलले २५ र आरिफ शेखले १४ रन बनाए ।

आर्मीको लागि पवन कार्की र शहाब आलमले समान दुई/दुई विकेट लिँदा आकाश चन्दले एक विकेट लिए ।

यसअघि दोस्रो इनिंसमा आर्मीले ७४.२ ओभरमा अलआउट हुँदै २ सय २६ रन बनाएको थियो ।आर्मीको लागि आकाश चन्दले सर्वाधिक ३७ रन बनाउँदा कुशल मल्लले ३६, शहाब आलमले ३३, भीम शार्कीले ३२ र त्रित राज २० रन बनाए । अन्य ब्याट्सम्यानले उल्लेखनीय योगदान दिन सकेनन् ।

पुलिसको लागि सागर ढकालले चार विकेट लिँदा करण केसी र ललित राजवंशीले एक/एक वोकेट लिए ।

दोस्रो दिनको समाप्तिमा आर्मीले दोस्रो इनिंसको ५२ ओभरमा ९ विकेटको क्षतिमा १ सय ७८ रन बनाएको हो ।

यसअघि मुलपानी क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीले ५८.२ ओभरमा अलआउट हुँदै २ सय २१ रन बनाएको थियो । आर्मीको लागि इमरान शेखले अर्धसतक बनाए । उनले १ सय ३७ बल खेल्दै ७ चौकाको मद्दतमा ५० रन बनाए । यस्तै भीम शार्कीले ३९, कुशल मल्लले ३८, त्रित राज दासले ३२, बासिर अहमदले ३० र सोमपाल कामीले १७ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

पूलिसको लागि रशिद खानले ४ ओभर बलिङ गरेर एक मेडन राख्दै १७ रन दिएर चार विकेट लिए । यस्तै करण केसी र ललित राजवंशीको नाममा तीन/तीन विकेट रह्यो ।

जवाफी ब्याटिङमा उत्रिएको पुलिसले ६१.४ ओभरमा अलआउट हुँदै २ सय २१ रन बनाएको थियो । पुलिसको लागि करण केसीले अर्धसतक बनाए । उनले १ सय ९ बल खेल्दै ७ चौका र दुई छक्काको मद्दतमा ७२ रन बनाए । यस्तै कप्तान आरिफ शेखले ४४, ललित राजवंशीले २०, कुशल भुर्तेलले १८, दिनेश खरेलले १७ तथा रशिद खान र शंकर रानाले समान १५/१५ रन बनाए ।

आर्मीको लागि सोमपाल कामीले १७ ओभरमा ३ मेडन राख्दै ७२ रन दिएर ५ विकेट लिए । यस्तै आकाश चन्दले दुई विकेट लिँदा शाहाब आलम, पवन कार्की र नरेन साउदको नाममा एक/एक विकेट रह्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *