बैङ्कक । क्षेत्रीय तनाव, सुस्त अर्थतन्त्र र आन्तरिक राजनीतिक उतारचढावबीच थाइल्यान्डको नयाँ संसद्ले अनुतिन चार्नभिराकुललाई पुनः प्रधानमन्त्रीमा निर्वाचित गरेको छ ।
यसले देशलाई जटिल चुनौतीहरूको सामना गर्दै नयाँ राजनीतिक चरणमा प्रवेश गराएको छ । संसदीय मतदानमा उनले आवश्यक २५० मतको सीमा पार गर्दै स्पष्ट समर्थन हासिल गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
मतदानअघि सञ्चारकर्मीसँग कुरा गर्दै अनुतिनले आफू सकेसम्म लामो समयसम्म जनताको सेवा गर्ने अवस्थामा रहने आशा व्यक्त गरेका थिए । जनतालाई असर गर्ने कुनै पनि समस्या आएमा तुरुन्त प्रतिक्रिया दिने प्रतिबद्धता व्यक्त गर्दै उनले आफ्नो नेतृत्वलाई व्यावहारिक र उत्तरदायी बनाउने संकेत गरे।
अनुतिन नेतृत्वको भूमजाइथाई पार्टीले फेब्रुअरीमा सम्पन्न निर्वाचनमा उल्लेखनीय सफलता हासिल गरेको थियो । कम्बोडियासँगको सीमा तनाव र त्यस क्रममा भएका घातक झडपपछि राष्ट्रवाद र सुरक्षा मुद्दालाई प्राथमिकतामा राख्दै पार्टीले सीमामा पर्खाल निर्माण, सीमा नाकाहरू बन्द राख्ने तथा एक लाख स्वयंसेवक सैनिक भर्ती गर्ने जस्ता कडा एजेन्डा अघि सारेको थियो । यही रणनीतिले पार्टीलाई सबैभन्दा ठूलो दल बनाउँदै सरकार गठनको अग्रस्थानमा पुर्याएको हो ।
तेस्रो स्थानमा सीमित भएको पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राको फेउ थाई पार्टी १४ साना दलहरूसहित गठबन्धनमा सहभागी हुँदै अनुतिनलाई समर्थन गर्न सहमत भएको थियो । यस गठबन्धनको समर्थनपछि संसद्ले औपचारिक रूपमा उनलाई प्रधानमन्त्रीमा निर्वाचित गरेको हो ।
पारिवारिक निर्माण व्यवसायबाट करोडपति बन ५९ वर्षीय अनुतिन यसअघि पनि प्रधानमन्त्री भइसकेका थिए। उनका पूर्ववर्ती थाक्सिनकी छोरी पेटोङ्तार्न सिनावात्रा अदालतको आदेशपछि पदमुक्त भएपछि अनुतिन सत्तामा आएका थिए । पेटोङ्तार्नसँग सम्बन्धित एक चुहावट भएको टेलिफोन संवादले ठूलो राजनीतिक विवाद निम्त्याएको थियो, जसमा उनले कम्बोडियाका पूर्वनेता हुन सेनलाई ‘काका’ भनेर सम्बोधन गरेको र एक थाई सैन्य कमान्डरलाई ‘प्रतिद्वन्द्वी’ भनेको सार्वजनिक भएपछि व्यापक आलोचना भएको थियो ।
त्यस घटनापछि अनुतिनले भूमजाइथाईलाई तत्कालीन गठबन्धनबाट अलग गरेसँगै सरकार ढलेको थियो र त्यसपछि उहाँ पुनः प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । यसबीच, सुधारवादी पिपुल्स पार्टीले अपेक्षाभन्दा कमजोर प्रदर्शन गर्दै दोस्रो स्थानमा सीमित भएपछि विपक्षीको भूमिका निर्वाह गर्नेछ । तर उक्त पार्टीका नेता नात्थाफोङ रुएङपान्यावुटसहित १० सांसद शाही अपमानसम्बन्धी कानूनमा सुधारको प्रयासका कारण नैतिक उल्लङ्घनको आरोपमा कारबाहीको जोखिममा परेका छन् ।
विपक्षी नेता नात्थाफोङले आफूलाई प्रधानमन्त्रीका लागि मनोनयन गरिएको विषयलाई सरकार गठनको प्रतिस्पर्धा नभई संसदीय प्रक्रियामार्फत जनतासँग प्रभावकारी संवाद गर्ने अवसरका रूपमा लिएको बताए।
नयाँ सरकारका सामु चुनौतीहरू गम्भीर छन् । थाइल्यान्डको आर्थिक वृद्धि गत वर्ष सुस्त रह्यो भने पर्यटन क्षेत्र अझै पूर्ण रूपमा पुनरुत्थान हुन सकेको छैन । यसैबीच, भियतनामले तीव्र रूपमा प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्दै प्रतिस्पर्धा बढाएको छ । मध्यपूर्वमा इरानमाथि भएको इजरायली–अमेरिकी आक्रमणपछि सुरु भएको युद्धले विश्व बजार अस्थिर बनाएको छ । यसको प्रभाव थाइल्यान्डमा पनि इन्धन मूल्य वृद्धि र आपूर्ति अवरोधका रूपमा देखिएको छ ।
अनुतिनले भने उक्त संकटलाई थाइल्यान्डका लागि अवसरमा परिणत गर्ने प्रतिबद्धता जनाएका थिए । तर विश्लेषकहरूका अनुसार सरकारले अहिलेसम्म इन्धनको मूल्य नियन्त्रण गर्न ठोस कदम चाल्न सकेको छैन । राजनीतिक विश्लेषक युटापोर्न इसाराचाईका अनुसार सरकारका कदमहरू अझै ‘अस्थायी समाधान’ मा सीमित छन्, जस्तै घरबाट काम गर्ने व्यवस्था लागू गर्नु ।
कम्बोडियासँगको लामो सीमा विवाद पनि अर्को संवेदनशील विषयका रूपमा रहेको छ । यद्यपि हाल नाजुक युद्धविराम कायम छ, ८०० किलोमिटर लामो सीमा अझै पूर्ण रूपमा निश्चित भइसकेको छैन । प्रधानमन्त्री बनेलगत्तै अनुतिनले सशस्त्र सेनालाई सीमामा आवश्यक ठानेको कारबाही गर्न अधिकार दिनुभएको थियो र थाई सेनाले पछिल्लो झडपपछि केही विवादित क्षेत्र नियन्त्रणमा लिएको जनाएको छ ।
यद्यपि, विश्लेषकहरूका अनुसार अहिले मतदाताको ध्यान मुख्यतः आर्थिक समस्यातर्फ केन्द्रित भएको छ । बढ्दो महँगी, इन्धन संकट र रोजगारीका चुनौतीबीच अर्थतन्त्र नै जनताको सबैभन्दा ठूलो चिन्ता बनेको छ, जसले अनुतिन नेतृत्वको नयाँ सरकारको सफलताको प्रमुख परीक्षा तय गर्नेछ ।
