भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाले हालै आएको हावाहुरीका कारण क्षति बेहोरेका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
यही चैत २ गते बेलुका आएको हावाहुरीबाट प्रभावित घरपरिवारको स्थलगत अनुगमनपछि गाउँपालिकाले प्रतिपरिवार रु २० हजारका दरले राहत वितरण गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए ।
उनका अनुसार प्रभावित परिवारको अवस्थालाई दृष्टिगत गर्दै स्थलगत निरीक्षणपछि प्रतिपरिवार रु २० हजारका दरले राहत प्रदान गर्ने निर्णय गरिएको हो । “प्राकृतिक विपत्तिका कारण समस्यामा परेका नागरिकलाई तत्काल सहयोग पु¥याउनु हाम्रो दायित्व हो”, अध्यक्ष राईले भने, “क्षतिको विवरण सङ्कलनसँगै राहत वितरणलाई तीव्रता दिइएको छ ।”
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले हावाहुरीका कारण नौ परिवारका घरमा क्षति पुगेको बताए । ती सबै परिवारलाई राहत उपलब्ध गराइने उनले जानकारी दिए ।
हावाहुरीका कारण कच्ची तथा टिनका छाना भएका घरहरू बढी प्रभावित भएका छन् ।
