काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू लोकतान्त्रिक व्यवस्थाप्रति प्रतिबद्ध रहेको बताएका छन् । बुधबार पार्टीका नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण कार्यक्रममा सभापति लामिछानेले वर्तमान व्यवस्था र संविधानप्रति पार्टीको प्रतिबद्धता रहेको बताएका हुन् ।
उनले शासकीय स्वरूपमा समयअनुसार केही सुधार आवश्यक रहेको आफूहरुको बुझाइ रहेको बताए । उनले भने, ‘म लोकतान्त्रिक व्यवस्थामा विश्वास गर्छु। वर्तमान व्यवस्था र संविधानप्रति प्रतिबद्ध छु । शासकीय स्वरूपमा समयअनुसार केही सुधार आवश्यक छ भन्ने हाम्रो बुझाइ हो । संविधानप्रति हाम्रो प्रतिबद्धता डगमगाएको छैन ।’
उनले लोकतन्त्र खतरामा नपर्ने र अधिनायकवाद नआउने बताए । उनले त्यसका लागि आफूहरुले चनाखो भएर काम गर्ने बताए । उनले मुलुकलाई आर्थिक समृद्धिको बाटोमा निरन्तर लिएर जान अहोरात्र काम गर्ने बताए ।
उनले पुराना दल र नेताले गरेको त्याग र संघर्षले गर्दा नै आज यो अवस्थामा आएको बताए । उनले भने,’इतिहास रच्नेमा एउटा नेता, एउटा पार्टीको हात हुँदैन। इतिहासको कालखण्डदेखि यहाँसम्म विभिन्न पुराना राजनीतिक दल र नेताहरूले त्याग र तपस्या गरेर आज हामीलाई यो दिन ल्याउनु भएको छ । उहाँहरूका कयौँ व्यथितिप्रति हाम्रो असहमति हो। इतिहासमा उहाँहरूले दिएको योगदानलाई नजरअन्दाज गर्ने, अपमानित गर्ने हक हामी कसैलाई पनि छैन। म यति भन्न चाहन्छु– इतिहास तपाईले लेख्नु भयो, भविष्य हामी बनाउँछौँ।’
