काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीका नवनिर्वाचित सांसदहरुलाई जथाभावी अभिव्यक्ति नदिन आग्रह गरेका छन् ।
बुधबार पार्टीका नननिर्वाचित सांसदहरूको अभिमुखीकरणका कार्यक्रममा सभापति लामिछानेले आफूलाई विगतमा अभियन्ता भनेर चिनाएकाहरूले अब सांसदको गरिमा ख्याल राख्नुपर्ने बताएका हुन् । उनले जथाभावी अभिव्यक्ति दिने र हल्का मनोरञ्जन गर्ने छुट कसैलाई नभएको बताए ।
उनले भने, ‘प्रत्येक मतको इज्जत हुनुपर्छ। बजारमा मनोरञ्जनको विषय नबनोस् । त्यसमा तपाईँहरु सचेत हुनुपर्छ ।’
उनले हिजोको जस्तै आचरण देखाए सांसदबाट बिदा हुन तयार हुनुपर्ने बताए । उनले भने, ‘हिजोकै जस्तो व्यवहार र आचरण देखाउने हो भने सांसदबाट बिदा भए पनि हुन्छ । केही फरक पर्नेवाला छैन ।’
सभापति लामिछानेले जनताले दिएको जिम्मेवारी महसूस गरेर काम गर्नुपर्ने बताए । उनले जनताले अब कसैलाई नकुर्ने बताए ।
उनले भने, ‘जनताले पुराना दललाई ३५ वर्ष कुरे। हामीलाई २६ महिना, २६ दिन पनि कुर्ने वाला छैनन्। यो कुरा ध्यान दिनुहोला ।’
सभापति लामिछानेले गुट बनाएर कांग्रेस र एमालेलाई जित्न नसकिने बताए । उनले रास्वपामा विभिन्न दल र समूहबाट आएपनि अब तपाईँहरु सबै रास्वपा भएको भन्दै त्यसमा मन खुम्च्याउनुपर्ने कुनै कारण नभएको बताए ।
उनले भने,’हिजो म कुनमा थिएँ भन्ने सोच नराख्नु होला । गुट बनाएर कांग्रेस र एमालेलाई जितिँदैन । घण्टीमै तपाईंहरूको हो । म केन्द्रितबाट देशकेन्द्रित राजनीति नगरे पुरानाको भन्दा हाम्रो हालत खराब हुन्छ । विदेशको चाल, स्वार्थ हाबी भयो भनेर कुनै बहाना बनाउन पाइँदैन ।’
सभापति लामिछानेले आफूहरुको अतिरिक्त आग्रहका कारण जनताले मत खन्याएको भन्दै दयाँबायाँ सोच्ने छुट नभएको बताए ।
उनले सरकार बनेको बेलुकादेखि नै सरकार ढाल्न एउटा समूह लाग्ने गरेको भन्दै आफूहरूभित्र फाटो ल्याउन खोज्नेहरूको विगविगी भएको बताए ।
उनले भने, ‘हामी मिल्न सकेनौं भने र स्वार्थको बन्दी बन्यौं भने मात्रै समस्या हुन्छ। यहाँ फाटो ल्याउनेको विगविगी छ ।’
