काठमाडौँ । खोटाङमा एयर डाइनेष्टिको हेलिकप्टर दुर्घटनामा परेको छ । बुधबार मध्यान्ह १२ बजेको समयमा केपिलासगढी गाउँपालिका २ को बालावेशीमा हेलिकप्टर दुर्घटनामा परेको हो । दुर्घटनामा परेर एक जना घाइते भएका छन् ।
पाइलट सविन थापा र पाँच जना यात्रु चढेको हेलिकप्टर अवतरणका क्रममा हावाको वेगले अनियन्त्रित भई भित्तामा ठोक्किएको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिइन् । भित्तामा ठोक्किएर पल्टिँदा सोही ठाउँका ५० वर्षीय काजीबहादुर राई घाइते भएका छन् ।
उनलाई एयर डाइनेष्टीकै अर्को हेलिकप्टर मगाएर उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । अरुको अवस्था भने सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।
