बीबीसी । इरानले देशको सुरक्षा प्रमुख अलि लारिजानी इजरायलको आक्रमणमा मारिएको पुष्टि गर्दै त्यसको ‘निर्णायक’ प्रतिवाद गरिने चेतावनी दिएको छ । लाजिरानी इरानमाथि अमेरिका र इजरायलको आक्रमण सुरु भएयता मारिएका इरानका सर्वोच्च नेता आयतोल्लाह अलि खामेनेई पछि दोस्रो शीर्ष अधिकारी हुन् ।
इजरायली सञ्चारमाध्यमका अनुसार आफ्ना छोरासँगै लुकेर बसेका बेला उनीमाथि आक्रमण भएको थियो । लारिजानी सन् २०२५ अगस्टदेखि इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रभावशाली सचिव थिए । उक्त परिषद्मा उनलाई हालै मारिएका सर्वोच्च नेता आयतोल्लाह अलि खामेनेईको प्रतिनिधिका रूपमा चित्रण गरिन्थ्यो ।
इजरायली हवाई आक्रमणमा लारिजानी मारिएपछि इस्लामिक गणतन्त्रलाई एउटा संवेदनशील घडीमा देशका सबैभन्दा अनुभवी र प्रभावशाली नीति निर्माताहरूको अभाव हुने छ । लारिजानी सैन्य कमान्डर नभए पनि इरानको रणनीतिक निर्णय प्रक्रियामा उनी केन्द्रीय भूमिकामा थिए । सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को सचिवको भूमिकामा उनी युद्ध, कूटनीति र राष्ट्रिय सुरक्षाका निर्णय प्रक्रियाको केन्द्रमा थिए ।
अमेरिका र इजरायलसँग इरानको टकराब व्यवस्थापनमा उनको भनाइ इरानको सबै प्रणालीमा लागु हुन्थ्यो । फेब्रुअरी २८ मा सर्वोच्च नेता अली खामेनेई मारिएपछि लारिजानीले इरान लामो सङ्घर्षका लागि तयार रहेको सङ्केत गरेका थिए ।
पश्चिमाविरुद्ध कट्टर अडान लिए पनि इरानभित्र भने लारिजानीलाई व्यवहारवादी नेताका रूपमा हेरिन्थ्यो। उनले वैचारिक विषयलाई जडतामा भन्दा रणनीतिक दृष्टिकोणबाट व्याख्या गर्थे । पश्चिमा देशहरूसँग सहकार्यबारे गहिरो आशङ्का गर्ने लारिजानीले चीनसँग इरानको दीर्घकालीन सम्झौता सहितका कूटनीतिक प्रयासहरूमा दूतको रूपमा काम गरेका थिए ।
उनको मृत्युको समयमा लारिजानी तीन वटा प्रमुख सङ्कटको व्यवस्थापनको नेतृत्व गरिरहेका थिए । उनले व्यवस्थापन गरिरहेको पहिलो सङ्कट युद्ध थियो। इरानले लामो सङ्घर्षको लागि तयार रहनुपर्ने, क्षेत्र वरपर पनि द्वन्द्व विस्तार गर्नुपर्ने र स्ट्रेट अफ होर्मुज बन्द गरिनुपर्ने तर्क उनैले अघि सारेका थिए ।
उनले सम्हालिरहेको दोस्रो सङ्कट आन्तरिक अशान्तिको लहर थियो। आर्थिक असन्तुष्टिबाट सुरु भएको यो सङ्कटले व्यापक विरोध प्रदर्शनको रूप लिएर इस्लामिक गणतन्त्र ढाल्ने प्रयासमा परिणत भयो। जसमाथि सरकारले व्यापक दमन गर्दा देशभरि हजारौँ प्रदर्शनकारी मारिएका थिए ।
