मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो-चिनियाँ राष्ट्रपतिको पुस्तक जलाइएको छैन

काठमाडौँ । मनमोहन प्राविधिक विश्वविद्यालयले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी गरेको छ । मंगलबार विज्ञप्ति जारी गरी विश्वविद्यालयले हाल सामाजिक सञ्जालमा हाम्रो संस्थासंग सम्बन्धित भनी केही तस्बिर तथा सूचनाहरू प्रसारित भएकोप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

विश्वविद्यालयले संस्थाको परिसरमा रहेको एउटा वर्कशपमा विगत केही समयदेखि प्रयोगमा नआएका सामग्री तथा कवाडी सामानहरू थन्किएको अवस्थामा रहेका र तिनै समान जनाएको बताएको छ ।

उसले ती स्थानमा स्कुल अफ इन्जिनियरिङ अन्तर्गतको सिभिल इन्जिनियरिङ विभागको केही ल्याबहरू स्थापना गर्नका लागि उक्त स्थान खाली गरी सरसफाइ तथा व्यवस्थापन गर्ने कार्य गरिएको उल्लेख गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सरसफाइको क्रममा पूर्ण रूपमा बिग्रेका एवं अन्य कवाडी सामग्रीको व्यवस्थापन गर्ने क्रममा मक्किएका, विग्रिएका तथा धमिरा लागेका केही पुस्तकहरू नष्ट भएका हुन । राम्रो अवस्थामा रहेका पुस्तक तथा सामग्रीहरू भने छुट्याई सुरक्षित रूपमा राखिएको व्यहोरा जानकारी गराउंदछौ । यस क्रममा सामाजिक सञ्जालमा देखाइएजस्तो कुनै विशेष पुस्तक वा सामग्रीलाई लक्षित गरी नष्ट गरिएको होइन भन्ने कुरा स्पष्ट पार्न चाहन्छौं ।’

मनमोहन टेक्निकल इन्स्टिच्युटमा चिनियाँ राष्ट्रपति सी जिनपिङको ‘द गभर्नेन्स अफ चाइना’ भन्ने किताब जलाएको विषयमा चीनले परराष्ट्र मन्त्रालयमार्फत ध्यानाकर्षण गराएको थियो ।

घटनाको छानबिन तथा कारबाही गर्न काठमाडौँस्थित चिनियाँ दूतावासबाट प्राप्त कूटनीतिक पत्रसहित परराष्ट्र मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गरेको थियो ।

सोही पत्रउपर गृह मन्त्रालयले आवश्यक कारबाहीका लागि प्रहरीलाई पत्राचार गरेको हो । सो घटनाका सम्बन्धमा अनुसन्धान गर्न दोषीलाई कानुनी दायरामा ल्याउन मोरङको जिल्ला प्रशासन र प्रहरीलाई गृहमन्त्रालयले निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *