‘पिएम कप’ क्रिकेट गण्डकी छनोटमा नवलपुरलाई हराउँदै कास्की च्याम्पियन

कास्की । पोखरामा सञ्चालन भएको प्रधानमन्त्री कप(पिएम कप) क्रिकेट गण्डकी प्रदेश छनोट प्रतियोगितामा घरेलु टोली कास्कीले उपाधि जितेको छ ।

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा मंगलबार भएको फाइनल खेलमा नवलपुरलाई ४८ रनले पराजित गर्दै कास्की लगातार दोस्रो पटक च्याम्पियन बन्न सफल भयो । यसअघि अघिल्लो वर्ष समेत कास्कीले उपाधि आफ्नो पोल्टामा पारेको थियो ।

फाइनल खेलमा कास्कीले टस जितेर पहिले ब्याटिङ गर्दै ५० ओभरमा आठ विकेट गुमाएर २४० रन बनायो । उपाधिका लागि २४१ रनको विजयी लक्ष्य पछ्याएको नवलपुर ४३ ओभरको दोस्रो बलमा जम्मा १९२ रन बनाएर’अलआउट[ हुन पुग्यो ।

कास्कीको जितमा अर्जुन कुमाल नायक बने । उनले एक सय ३१ बलमा १११ रनको उत्कृष्ट शतकीय इनिङ खेल्दै टोलीलाई बलियो स्थितिमा पुर्याए । सुभास भण्डारीले ५३ बलमा ४२ रन बनाए । अन्तिम समयमा कृष्ण पौडेलले आक्रामक ब्याटिङ गर्दै १४ बलमा २७ रन जोड्दा टोलीको स्कोर प्रतिस्पर्धात्मक बनेको थियो ।

बलिङतर्फ नवलपुरका अपराजित पौडेल र कमल परियारले समान दुई/दुई विकेट लिए भने मुन्ना नेपाली र सुदीप अर्यालले एक/एक विकेट हात पारे ।

नवलपुरले सन्तोषजनक सुरुआत गरे पनि ठूलो साझेदारी गर्न सकेन। गौरव विश्वकर्माले २६ र अनिश गुरुङले १५ रन बनाए । दीपक डुम्रेले ३६ रनको योगदान दिए पनि अन्य ब्याटर टिक्न नसक्दा टोली दबाबमा परेको थियो ।

कास्कीका लागि कृष्ण पौडेलले चार विकेट तथा कप्तान विपिन खत्री र सुभाष भण्डारीले समान दुई/दुई विकेट लिए भने सिब्रिन श्रेष्ठले एक विकेट हात पारे ।

कास्कीका अर्जुन कुमाल ‘प्लेयर अफ दि सिरिज’ तथा प्रतियोगिताको उत्कृष्ट ‘व्याटर’ समेत घोषित भए । अर्जुनले प्रतियोगितामा दुई सतकसहित ३२७ रन बनाए । प्रतिायेगितामा सर्वाधिक १२ विकेट लिएका कास्कीका विपिन खत्री उत्कृष्ट बलर घोषित भए ।

प्रतियोगितामा विजेता टिम तथा खेलाडीहरूलाई नेपाल क्रिकेट सङ्घ -क्यान)का सदस्य सुदीप शर्मा, प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देल, उपाध्यक्ष प्रकाश पौडेल, सचिव सुमनराज कार्कीलगायतले ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो। गत फागुन २७ गतेदेखी सुरु भएको प्रतियोगितामा गण्डकी प्रदेशका छ जिल्लाको सहभागिता थियो ।

प्रतियोगितामा खेलाडीहरूले गरेको प्रदर्शनका आधारमा उत्कृष्ट २४ जना खेलाडी छनोट गरी उनीहरूलाई आसन्न प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बन्द प्रशिक्षणमा सहभागी गराइने आयोजक प्रादेशिक क्रिकेट सङ्घ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *